सर्लाहीमा फेरि दिनदहाडैं चल्यो गोली, स्थानीय आतंकित

सर्लाही, १४ असार । विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्जार्ज कुमार पौडेलको गोली लागि मृत्यु भएको दुई साता नबित्दै फेरि एक जना माथि गोली प्रहार भएको छ । गोली कसले चलाएको भन्ने यकिन भएको भने छैन । गोली लागि एक मजदुर घाईते भएका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका- १ नवलपुरमा शनिवार अज्ञात समूहको गोली प्रहारबाट एकजना घाईते भएको प्रहरीले पुष्टि गरेको छ । गोली लागि घाईते हुनेमा लालबन्दी – १ नवलपुरका ३० वर्षीय जयनाथ महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नवलपुरको महेन्द्र राजमार्गमा रहेको सर्पदंश उपचार केन्द्रदेखि एक किमि उतर जंगल क्षेत्रमा रहेको ब्रह्मस्थानको मन्दिर निर्माणमा मजदुरीको काम गर्दै गरेको अवस्थामा मोटरसाइकलमा आएका दुईजनाको समूहले शनिवार अन्दाजी मध्यान्ह १२ बजेको समयमा महतोमाथि गोली प्रहार गएका हुन् ।

गोली महतोको दाहिने हातमा लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।

गोली कसले र किन प्रहार गरेको हो त्यो अहिले सम्म खुल्न सकेको छैन् । हतियारधारी समूह गोली प्रहार गरी जंगलको बाटो हुदैं पूर्व तर्फ भागेको स्थानीयले जनाएका छन् ।

गोली लागि घाईते महतोको नवलपुरमा प्राथमिक उपचार पश्चात थप उपचारको लगि बीरगंज तर्फ पठाइएको प्रहरी नायब उपरीक्षक राठौरले बताए ।

दिनदहाडैं गोली चल्न थालेपछि शान्ति सुरक्षाको विषयलाई लिएर स्थानीय आतंकित बनेका छन् । यस अघि असार ५ गते दिउसो लालबन्दी–१ कै लखनदेहीस्थित जंगलको पश्चिममा प्रहरीको गोली लागि विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलको ज्यान गएको थियो ।

Loading...