रोमान्चक खेलमा पाकिस्तानको जित, यस्तो छ सेमीफाइनल पुग्ने सम्भावना

अत्यन्त रोमान्चक खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले विश्वकप क्रिकेटमा सेमीफाइनल सम्भावना बलियो बनाएको छ।

आठौँ खेलमा ४ जित हात पारेको पाकिस्तानको ९ अंक रहेको छ र अंकतालिकामा चौथो स्थानमा उक्लेको छ। ७ खेलमा ४ जित र ३ हार बेहोरेको इंग्ल्याण्ड ८ अंक सहित पाँचौ स्थानमा झरेको छ। अफगानिस्तान भने लगातार आठौँ खेलमा पराजित भएको छ र पुछारमा रहेको छ।

अब यदी इंग्ल्याण्डले बाँकी २ खेल मध्ये १ खेल हारेको खण्डमा र पाकिस्तानले अन्तिम खेल जितेको खण्डमा पाकिस्तान सेमीफाइनल प्रवेश गर्नेछ। इंग्ल्याण्डले भारत र न्युजिल्याण्डसंग खेल्न बाँकी छ भने पाकिस्तानले अन्तिम खेल बंगलादेशसंग खेल्नेछ।

अफगानिस्तान संगको खेल जित्दै पाकिस्तानले सन् १९९२ को विश्वकप जित्दाको संयोगलाई पनि कायमै राखेको छ। १९९२ मा जस्तै पाकिस्तानको पहिलो ८ खेलमा नतिजा समान रहेको छ।

रोमान्चक रह्यो रन चेज

खेलमा अफगानिस्तानले दिएको २२८ रनको लक्ष्य पाकिस्तानले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्यो ।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ओपनर फखर जमान खाता नखोली पहिलो ओभरमा मुजिब उर् रहमानको बलमा एलबिडब्लु आउट भए।

दोश्रो विकेटको लागि इमाम उल हक र बाबर आजमले ७२ रनको साझेदारी गरे। इमामलाई मोहम्मद नाबीले १६ औं ओभरमा स्टम्प आउट गर्दै अफगानिस्तानलाई खेलमा फर्काए। लगत्तै बाबर आजमलाई नाबीले बोल्ड गरे। इमामले ३६ तथा बाबरले ४५ रन बनाए।

त्यसपछि चौथो विकेटको लागि मोहम्मद हफिज र हरिस सोहेलले ४० रनको साझेदारी गरे। १९ रन बनाएका हफिजलाई मुजिबले ३० औं ओभरमा क्याच आउट गराए जसपछि पाकिस्तानले पुनः लगातार विकेट गुमाउन पुग्यो। २७ रन बनाएका हरिस सोहेललाई ३५ औं ओभरमा राशिद खानले एलबिडब्लु धरापमा पारे।

एउटा किनार सम्हालीरहेका सरफराज एहमद ३९ औं ओभरमा रन आउट हुन पुग्दा पाकिस्तान नाजुक अवस्थामा पुग्यो। उनले १८ रन बनाए।

३९ ओभरमा १५६/६ पुगेको पाकिस्तानलाई सातौँ स्थानमा ब्याटिंग गरेका इमाद वासिमले एक किनार सम्हाल्दै जितको आशा देखाए। त्यस क्रममा उनले शदाब खानसंग ५० रनको साझेदारी गरे।

४७ औं ओभरमा  ११ रन बनाएका शदाबलाई गुल्बदीन नैबले रन आउट गर्दा अफगानिस्तान खेलमा फर्कियो।

२ ओभरमा पाकिस्तानलाई १६ रन आवस्यक हुँदा राशिद खानले गरेको ४९ औं ओभरको दोश्रो बलमा वाहब रियाजए छक्का प्रहार गर्दै जितको अन्तर कम गरे। उक्त ओभरमा १० रन बनेपछि अन्तिम ओभरमा पाकिस्तानलाई ६ रन आवस्यक रह्यो।

अन्तिम ओभरको पहिलो बलमा इमाद वासिमले १ रन लिए भने दोश्रो बलमा रियाजले १ रन लिंदै इमादलाई स्ट्राइक दिए। तेश्रो बलमा रन आउट गर्ने मौका अफगानिस्तानले गुमाउन पुग्दा १ रन ओभर थ्रोमा पनि गुमाउन पुग्यो।

३ बलमा जित्न २ रन आवस्यक रहंदा इमाद वासिमले कभरमा चौका प्रहार गर्दै पाकिस्तानलाई रोमान्चक जित दिलाए।

प्लेयर अफ द म्याच चुनिएका इमादले अविजित ४९ रन बनाए जुन क्रममा ५४ बलमा ५ चौका प्रहार गरे भने वाहब रियाजले अविजित १५ रन बनाउन ९ बलमा १ चौका र १ छक्का प्रहार गरे। दुवैले आतौं विकेटको लागि २४ रनको साझेदारी समेत गरे।

अफगानिस्तानको बलिंगमा मोहम्मद नाबी ( १०-०-२३-२ ) र मुजिब उरर रहमानले ( १०-१-३४-२ ) २/२ विकेट तथा राशिद खानले ( १०-०-५०-१ ) ले १ विकेट लिए।

अफगानिस्तानको ब्याटिंग 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो।

अफगानिस्तानको लागि नजिबुल्लाह जद्रान र अस्घर अफ्गानले समान ४२ रनको योगदान दिए। ओपनर रहमत शाहले ३५ तथा इक्रम अलि खिलले २४ रन बनाए।

चौथो विकेटको लागि अस्घर र इक्रम अलिले ६४ रनको तथा छैठौं विकेटको लागि मोहम्मद नबि र नाजिबुलाह जद्रानले ४२ रनको साझेदारी गरेका थिए।

पाकिस्तानको बलिंगमा पेसर शाहिन अफ्रिदीले सर्वाधिक ४ विकेट ( १०-०-४७-४ ) लिए भने इमाद वासिम ( १०-०-४८-२ )  र वहाव रियाज ( ८-०-२९-२ ) ले २/२ विकेट लिए। शदाब खानले १ विकेट ( १०-०-४४-१) लिए।

 

Loading...