महिलाहरू पुरुषबाट भन्दा महिलाहरुबाट नै पीडित भएको मेयर प्रसाइको प्रस्टोक्ति

दाइजो बिरुद्ध लाग्न जोड

सर्लाही । सर्लाहीको हरिवनमा दाइजो प्रथा विरुद्ध १ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। हरिवन नगरपालिकाको आयोजनामा ग्रामिण स्वयंसेवक समाजको सभा हलमा नगर प्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो।

पछिल्लो समय प्रदेश दुई का साथै तराईका जिल्लाहरुमा बढ्दै गएको दाइजो प्रथालाई रोक्न र त्यस्ता गलत कार्यको न्युनिकरणमा टेवा पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । दाइजोकै कारण धेरै ठाउँमा छोरीले विवाह गरेर गए पनि सुख र शान्तीको सास फेर्न नपाई विभिन्न खालको समस्या भोग्नु परेकोकुरालाई कार्यक्रम्मा चित्रण गर्दै प्रोजेक्टरको माध्यमबाट चलचित्र शैलीमा देखाइएको थियो ।
उक्त कार्यक्रमबारे बोल्दै नगर प्रमुख गणेश प्रसाईंले नगरभित्रका महिला दिदीवहिनीहरुलाई दाइजोले निम्त्याउने हिँसा तर्फ सचेत गराउन कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

प्रमुख प्रसाईले दाइजो प्रथाको अन्त हुन नसक्नुको मुख्य कारक भनेको महिला नै भएको बताए । समाजमा महिलाहरू पुरुषबाट भन्दा पनि बढी महिलाहरु बाट नै पीडित भएको उनको भनाइ थियो ।

विवाह गर्दा ससुरालाई भन्दा पनि बढी सासुलाई दाइजो प्रति चाहना हुने गरेको कारण त्यसलाई निर्मुल पार्न महिलाहरुनै सचेत भएर लाग्न पर्ने र दाइजो बिरुद्दमा जागरुक बन्नुपर्नेमा उनले जोड दिए ।

उपस्थित महिलाहरूलाई मेयर प्रसाईले दाइजो लिदैनौ दाइजो दिदैनौ दाइजो प्रथा मुर्दावाद भन्न लगाएर सपथ पनि गराएका थिए।

उपमेयर रेणुका पौडेको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकारमा ढकाल, १० नम्बरका वडा अध्यक्ष शम्भु मैनाली, ६ नम्बरका वडा अध्यक्ष प्रल्हाद बुढाथोकी, महिला नेतृ कल्पना कटुवाल, नेकपाका नेता बिदुर प्याकुरेल, पार्वती विश्वकर्मा, मोहनलाल श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति थियो ।