सर्लाहीमा डाक्टर पत्नी सुप्रियाको रहस्यमय हत्या

सर्लाही, १२ असार । सर्लाहीको सदरमुकाम मलंगवामा एक महिलाको हत्या भएको छ । रौतहटको यमुनामाइ गाउँपालिका–३ स्थायी घर भइ मलंगवा–९ मा श्रीमानका साथ बस्दैआएकी सुप्रिया भारतीको बिहीबार हत्या भएको बताइएको छ ।

मृतक भारती मलंगवा–९ मा रहेको सर्लाही आँखा केन्द्रका डा. दिपेन्द्र रजककी श्रीमती हुन् । डा. रजक उपचारमा व्यस्त रहेको बेला मध्यान्ह १२ बजे अप्टिकल असिस्टेन्टको रुपमा कार्यरत ३० वर्षीय अमित बैठाले हत्या गरेको प्रहरीले जनाएको छ । अस्पतालको दोस्रो तल्लामा रहेको निवासमा बस्दै आएकी सुप्रियाको हत्या गरी बैठा भारततर्फ भागेको प्रहरी अनुसन्धानले देखाएको जनाइएको छ ।

३० वर्षीय बैठाले हतौडा प्रहार गरी उनको हत्या गरेको प्रहरीबाट जानकारी प्राप्त भएको छ । बैठाले भारतीसँगै रहेको ४ वर्षीय छोरा दिवस कुमार रजकको टाउकोमा समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार हत्या गर्ने बैठा डा. रजकको भिनाजुको भाइ समेत हुन् ।

रौतहटका बौधिमाइ नगरपालिका सरमुजबा निवासी उनी हत्या गरी भारत पसेको प्रहरीले जनाएको छ । बैठाले भारतीको हत्या किन गरेको भन्ने बारे अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

Loading...