सर्लाही, २४ जेठ । सर्लाहीको हरिवन स्थित मालपोत कार्यालयमा शुक्रवारदेखि अनलाईनबाट सेवा प्रदान गर्न थालिएको छ । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले एक कार्यक्रमका बीच अनलाईन सेवाको शुभारम्भ गरेका छन ।
अहिलेको युग प्रविधिको युग भएकोले मालपोत कार्यालयमा अनलाईनबाट सेवा संचालन हुनु खुशीको कुरा भएको नगर प्रमुख प्रसाइको भनाइ रहेको छ । अनलाइनले अनावश्यक ढिलासुस्ती अन्त्य हुने र किर्ते काम पनि नहुने दावी गर्दै उनले मालपोतमा बिचौलियाको लागि समेत अब ठाउँ नभएको बताए ।
प्रविधिको विकाशसंगै मालपोत कार्यालयमा छिटो छरितो र पारदर्शी रुपमा काम सम्पन्न हुने विस्वाश व्यक्त गर्दै प्रमुख प्रसाइले आफ्नो नगर भित्रका अन्य सरकारी निकायका काम पनि अनलाईन मार्फत गर्दै जाने जानकारी गराए । आफ्नो कार्यकालमा हरिवन नगर पुर्णरुपमा डिजिटल बन्ने बताउदै उनले आफू डिजिटल नगरको लागि लागिपरेको समेत बताए ।
सरकारले देशभरका मालपोत, भूमी र नापी कार्यालयमा अनलाईनबाट सेवा प्रवाह गर्ने लक्ष्य लिएअनुरुप सर्लाहीमा पनि पहिलो पटक मालपोत कार्यालय हरिवनबाट यो सेवाको प्रारम्भ गरिएको हो । अनलाईनबाट काम सूरु गरेपछि जाली/किर्ते हुन नपाउने र हरेक काम पारदर्शी हुने मालपोत कार्यालय हरिवनका प्रमुख अम्बिकाप्रसाद नेपालले जानकारी दिए । उनले नयाँ प्रविधिमार्फत काम गर्दा शुरुमा केहि दिन ढिलो गतिमा काम भएपनि अभ्यस्त हुँदै गएपछि कामको गति बढ्ने बताए ।”अहिले हामीसँग अनलाईनबाट फटाफट काम गर्न सक्ने दक्ष कर्मचारी छैन । उपलब्ध दुई कम्प्यूटर अपरेटरको भरमा काम गर्ने हो ।” कार्यालय प्रमुख नेपालले भने ।
फटाफट काम नभए सेवाग्राहीको काम अल्झी रहने र भीड थेग्न मुस्किल पर्ने भएकाले सबै कर्मचारीले अनलाईनबाट काम गर्न सक्ने गरी तत्कालै आवश्यक तालिमको व्यवस्था मिलाइदिन भूमी सुधार तथा अभिलेख विभागसँग अनुरोध गरिएको मालपोत कार्यालय हरिवनले जनाएको छ ।