केपी सरकारले कोइराला निवास नछोडेपछि

विराटनगर, २१ जेठ । नेपाली काँग्रेसको आस्थाको धरोहरको रुपमा रहेको कोइराला निवासलाई सरकारले सुरक्षा नदिएपछि कांग्रेसी भावनामा चोट पुगेको छ । नेपालका लागि ३ प्रधानमन्त्री दिएको विराटनगरस्थित कोइराला निवासबाट सरकारले सुरक्षाकर्मी हटाएपछि उक्त चोट पुगेको हो ।

कृष्ण प्रसाद कोइरालाका ३ छोराहरुले नेपालको राजनीतिमा छोडेको प्रभाव जीवन्त बनाइराख्न कोइराला निवासको उचित रेखदेख हुनुपर्ने स्थानियको समेत भनाइ रहेको छ । प्रजातन्त्र प्राप्ति पछिका प्रधानमन्त्री मात्रिका प्रसाद कोइराला प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेका विपी कोइराला र गणतान्त्रिक आन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले आ आफ्नो समयमा दिएको योगदानको कदर गर्ने हो भने सरकारले कोइराला निवासलाई संरक्षण गर्नुपर्ने स्थानीयहरू बताउछन ।

स्वतन्त्रताप्रेमी र लोकतन्त्रवादीहरुको लागि कोइराला निवाससंग नजिकको साइनो छ । ०५२ सालमा सत्तासँग बिद्रोह गर्न हिडेको तत्कालिन नेकपा माओवादीले ०५४ सालमा कोइराला निवासमा बम हानेको थियो । कोइराला निवासमै बम हानेर उसले आफ्नो प्रभाव देखाएको थियो । त्यसपछि तत्कालिन सरकारले कोइराला निवासको लागि सुरक्षाकर्मी खटाएको थियो । गणतन्त्र पछि पनि शसस्त्र प्रहरी बलले असईको कमाण्डमा निवासको सुरक्षा दिंदै आएको थियो । निवासको सुरक्षा बाहेक अन्य काममा प्रयोग नभएपनि असईको कमाण्डमा रहेका ७ जना सुरक्षाकर्मीलाई गृह सचिवको निर्देशनमा फिर्ता गरिएको छ।

राजाको प्रत्यक्ष शासनकालमा पनि ति सुरक्षाकर्मी हटेका थिएनन् तर यतिबेला केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले कोइराला निवासबाट सुरक्षाकर्मी हटाएपछि यो चासो र चर्चाको बिषय बनेको छ ।