यार्सा खोज्न जानेहरुबाट लिइएको प्रवेश शुल्कबाट उठ्यो ९० लाख

मुगु, २० जेठ । यस वर्ष पनि बहुमूल्य जडिबुटी यार्सागुम्बा खाेज्नका लागि हिमाली जिल्लामा ठूलाे संख्यामा मानिसहरु पुगेका छन् । यार्सा संकलन गर्नका लागि गएकाहरुबाट उठाइएकाे प्रवेश शुल्कबाट मुगु जिल्लामा मात्र करिव ९० लाख राजश्व संकलन भएकाे छ ।

मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा संकलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख शुल्क उठाएको छ ।

मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा संकलनकर्ताबाट प्रतिव्यक्ति २ हजार र बाहिर जिल्लाबाट आउनेका लागि २ हजार ५ सय प्रवेश शुल्क तोकिएको थियो । उक्त स्थानमा जाने संकलनकर्ताबाट गाउँपालिकाले शुल्कबापत ९० लाख प्रवेश शुल्क उठाएको हो ।

मुगु गाउँको छापाखोला, च्यार्कु, रिमार, ठूलोकोखी, स्यानकोखी, चाल्ने, टाँके र हङदङखोलालगायतका पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन गर्न जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ गतेदेखि १८ गतेसम्म मुगु गाउँको सिरानीचौरमा प्रवेश शुल्क उठाएको थियो । यो वर्ष जिल्लाभित्र र बाहिर जिल्लाबाट आएका ४ हजार संकलनकर्तालार्ई प्रवेश अनुमति दिइएको थियो । यो वर्ष संकलनकर्ताबाट ९० लाख स्थानीय राजस्व उठेको मुगुम कार्मारोङ गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले जानकारी दिए ।

सूचना अधिकारी शाहीका अनुसार अघिल्लो वर्ष सुरक्षा व्यवस्थापनलगायत अन्य विषयमा कमजोरी हुँदा ६२ लाख रकम गाउँपालिकाले उठाएको थियो । १८ जेठबाट पनि यार्सा संकलन गर्न संकलनकर्तालाई पाटन क्षेत्र खुला गरिएको थियो । योभन्दा पछि जाने संकलनकर्ताबाट समेत तोकिएको रकम उठाउने निर्णय भएकाले ५ लाखदेखि १० लाख रकम उठ्न सक्ने भएकाले रकम १ करोडसम्म पुग्ने अनुमान रहेको मुगुम कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष कार्मा तामाङले बताए ।

प्रवेश शुल्कबापत उठेको ९० लाख गाउँपालिकाको खातामा जम्मा गरी २५ प्रतिशत व्यवस्थापन, ३५ प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको विकास निर्माणमा खर्च गरिने निर्णय गाउँपालिकाले गरेको छ ।

Loading...