अपरिचित व्यक्तिले फोन गरेपछि श्रीमतीको हत्या गर्ने पक्राउ

जनकपुर, २० जेठ । अपरिचित व्यक्तिको फोन आएको निहुमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । श्रीमती हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ ।

धनुषाको सबैला नगरपालिका वार्ड नं. ४ का २२ वर्षीय रहमत राइनले यसरी आफ्नी श्रीमतीको हत्या गरेका हुन् । अपरिचित नम्बरबाट श्रीमतीलाई सधैं फोन आउने गरेको र श्रीमती र ती अपरिचित व्यक्तिबीच कुराकानी हुने गरेको थाहा पाएपछि आफूले श्रीमतीको हत्या गरेको राइनले प्रहरीसमक्ष दिएको बयानमा स्वीकार गरेका छन् ।

१७ जेठमा श्रीमतीको हत्यापछि फरार भएका राइनलाई प्रहरीले आइतबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्दूभूषण यादवले बताए ।

श्रीमती नुर जहाँ खातुनले अपरीचित नम्बरमा फोन गर्ने गरेको र आफूहरुले सम्झाउँदा पनि नमानेको राइनले बताएका छन् ।

‘यो विषयमा धेरैपटक घरमा झगडा पनि हुन्थ्यो तर उनीहरुबीच जहिल्यै कुरा हुने भएपछि रिसमा मारिदिए भनेर बयान दिएको छ,’ प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

Loading...