नवलपरासीमा ठूलो हावाहुरी, हावाले उडाएको जस्ताले काटेर एक बालिकाको मृत्यु, ८० घरमा क्षति

नवलपरासी, २० जेठ । नवलपरासीमा आएको हावाहुरीले एक बालिकाको मृत्यु हुनुका साथै ८० घरमा क्षति पुगेको छ । आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको हो ।

साँझपख आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने ललन यादवकी १० वर्षीया छोरी अञ्जली यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । इप्रका त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।

शाहका अनुसार हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएका छन् । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करिब ८० घरमा क्षति पुर्याएको छ ।

हावाहुरीले अधिकांश घरका छानो उडाइदिएको छ । हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी ब्यारेज पुलमा सीसी टिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोस्टमा समेत क्षति पुगेको छ ।

Loading...