सरकारी कामको सहजताका लागि नेपालमा पहिलो अभ्यास गर्दै प्रम ओली

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम प्रभावकारी बनाउन एक्सन रुम सञ्चालन गरेका छन । प्रधानमन्त्रीको कार्यालयमा गणतन्त्र दिवसको अवसर पारेर उक्त एक्सन रूमको उद्घाटन समेत गरिएको छ ।

एक्सन रूम भए संगै विकास आयोजनाको अनुगमन तथा प्रदेशका मुख्यमन्त्रीहरु लगायतसँग विभिन्न विषयमा छलफल र निर्देशन समेतमा सहयोग पुग्ने प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ । समस्या र गुनासाहरुको तत्काल समाधान कक्षको रुपमा एक्सन रुमलाइ लिइएको छ ।

एक्सन रुमको बुधवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका विविध पक्षका बारेमा कुराकानी समेत गरेका छन् । एक्सन रुमले संघ र प्रदेशबीचको दूरी घटाउने र सामिप्यता बढाउने उनले बिस्वास व्यक्त गरेका छन । उनले बिकाश, सुशासन र समस्या समाधानमा यो एउटा सफल औजार हुने कुरा औल्याए ।

एक्सन रुमबाट नै आयोजनाहरुको अनुगमन र भिडियो कन्फरेन्स मार्फत एकैपटक सबैसंग कुराकानी समेत गर्न सकिने गरी प्रबिधी जडान गरीएकोले प्रधानमन्त्रीको समय बचाउन र ध्यान केन्द्रित गराउन यसले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।विभिन्न देशमा यस प्रकारको अभ्यास गरिए पनि सरकारी कामको सहजताका लागि नेपालमा यस्तो अभ्यासको थालनी पहिलो पटक भएको हो ।