यार्सागुम्बा संकलन गर्न डोल्पाका पाटनमा पुगे हजारौ मानिस, प्रवेश शुल्कबाटै उठ्यो २ करोड राजश्व

काठमाडाैँ, १५ जेठ । यस सिजन बहुमुल्य जडिबुटी यार्सागुम्बाकाे संकलन सुरु भएकाे छ । सिजन सुरु भएसँगै डाेल्पासँगै विभिन्न हिमाली जिल्लाका लेकहरुमा मानिसहरु पुगेका छन् ।

यसैबीच डोल्पाका पाटनमा पनि हजाराै मानिस पुगेका छन् । मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला गरिएपछि डाेल्पा र छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु त्यस क्षेत्रमा पुगेका हुन् ।

डाेल्पाकाे प्यारी गुफा, भोक्पा, भाङ्का, ठेग्या, कुनास, सागबारीलगायतका सत्तरीभन्दा धेरै पाटन यार्सागुम्बा संकलनका लागि औपचारिक रूपमा खुलेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।

निकुञ्जका निमित्त संरक्षण अधिकृत यादवका अनुसार मंगलबारसम्म सात हजार नौ ९९ मानिस अनुमति लिएर पाटनतर्फ लागेका छन् । निकुञ्ज क्षेत्रभित्र सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायतका १४ वटा नाकाबाट यार्सा संकलन गर्नेहरू प्रवेश गरेको निकुञ्जका रेञ्जर छत्र खड्काले जानकारी दिए ।

उता मुगुमा पर्ने डोल्फु र किम्री नाकामा फोन सम्पर्क नभएकाले वास्तविक संख्या आउन बाँकी रहेको खड्काले जानकारी दिए । यस वर्ष निकुञ्जका क्षेत्रमा पर्ने पाटनमा साढे नौ हजारको हाराहारीमा यार्सागुम्बा टिप्न मानिसहरू प्रवेश गर्ने अनुमान गरिएको छ ।

निकुञ्जबाहेक सामुदायिक वनभित्रका रूपपानी, पोखेपानी, साइक्वारीलगायतका पाटनमा यार्सागुम्बा टिप्न प्रवेश गर्नेको तथ्यांक निकुञ्जले राख्ने गरेको छैन । प्रत्येक वर्ष निकुञ्ज र सामुदायिक वनका पाटनमा गरी २० हजारको हाराहारीमा सर्वसाधारणले यार्सागुम्बा संकलन गर्ने बताइएको छ ।

यसपटक यार्सागुम्बाको संकलन पुर्जी वितरणबाट एक करोड ९१ लाख ३१ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ । निकुञ्ज क्षेत्रमा पर्ने १४ वटा नाकाबाट लगातार चार दिनसम्म संकलन पुर्जी वितरण गरिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । मुगु जिल्लामा पर्ने डोल्फु र किम्री नाकाबाट उठेको राजस्व रकमको परिमाण आउन बाँकी छ ।

सबैतिर गरी दुई करोड ५० लाख रुपैयाँ हाराहारीमा राजस्व उठ्ने अनुमान गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत यादवले जानकारी दिए । गत वर्ष यार्सागुम्बा संकलन पुर्जी वितरणबाट एक करोड ४१ लाख राजस्व उठेको थियो । गत वर्षभन्दा यस वर्ष २६ प्रतिशतले राजस्वमा वृद्धि भएको निकुञ्जले जानकारी दिएको छ ।