नेपालको पहिलो स्याटेलाइट अमेरिकाबाट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । नेपालको पहिलो स्याटेलाइट सफतापूर्वक प्रक्षेपण भएको छ । नेपाली वैज्ञानिकहरुले तयार गरेको भूउपग्रह अमेरिकाको भर्निनियाबाट नेपाली समयअनुसार विहीबार विहान २ बजेर ३१ मिनेटमा प्रक्षेपण भएको हो । ‘नानो स्याटेलाइट’ नाम दिइएको उक्त भूउपग्रह प्रक्षेपणसँगै नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु उत्साहित भएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख वैज्ञानिक रवीन्द्र ढकालले भूउपग्रह सफलतापूर्वक पक्षेपण भएको जानकारी दिएका छन् । उनका अनुसार प्रक्षेपणपछि अन्तरिक्षतर्फ गएको स्याटेलाइट एक महिनापछि ‘इन्टरनेश्नल स्पेश स्टेशन’मा पुग्नेछ ।

नेपालको झण्डा र नास्टको लोगो अंकित स्याटेलाइट प्रक्षेपणको नासाको टेलिभिजनमार्फत नेपालीहरुले पनि लाइभ हेरेका थिए ।
जापानको क्युटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठले नेपाली स्याटेलाइट निर्माण गरेका हुन् । नेपाली वैज्ञानिक मास्केको नेतृत्वमा विश्वविद्यालयको ‘बर्ड ३’ परियोजना अन्तर्गत नेपाल, श्रीलंका र जापानको गरी तीन वटा स्याटेलाइट निर्माण गरेर प्रक्षेपण गरिएको हो ।

यसको संयोजन जापानको अनुसन्धान केन्द्र ‘ज्याक्सा’ले गरेको थियो भने नासाले पनि स्याटेलाइट उडाउन अनुमति दिएको थियो । सानो क्षमताका तीन वटा स्याटेलाइट बनाउने परियोजनाको नेतृत्व क्युटेक विश्वविद्यालयमा पीएचडी गरिरहेका नेपाली वैज्ञानिक मास्केले गरेका थिए ।

अन्तरिक्षमा पठाएको स्याटेलाइटले एक महिना लगाएर ‘इन्टरनेश्नल स्पेस स्टेशन’ पुगेपछि तस्बिर पठाउनेछ । ती तस्बिर सुरुमा क्युटेक विश्वविद्यालयमै रहेका मास्के नेतृत्वको वैज्ञानिकहरुले प्राप्त गर्नेछन् ।

जेठ पहिलो हप्तासम्म ललितपुरको खुमलटारमा ‘ग्राउण्ड स्टेशन’ निर्माण भएपछि नास्टकै वैज्ञानिकले पनि नेपाली स्याटेलाइटले पठाएका तस्बिर प्रत्यक्ष हेरेर अनुसन्धान गर्न सक्नेछन् ।

नास्टका विज्ञान संकायका प्रमुख तथा प्रवक्ता ढुंगेलका अनुसार पीएचडीका लागि क्युटेक विश्वविद्यालय पुगेका आभाष मास्केको व्यक्तिगत प्रयासमा नेपालले आज गौरव गर्ने सफलता मिलेकाे हाे ।

पीएचडीका लागि जापान पुगेका मास्केले नानो स्याटेलाइट बनाउने परियोजना सुरु गरेका थिए । जसलाई सहयोग गर्न नास्टकै अर्का वैज्ञानिक हरिराम श्रेष्ठ करिव एक वर्षअघि मात्रै जापान पुगेका थिए । यसका लागि नास्टले आर्थिक सहयोग गरेको छ ।

मास्केले सुरु गरेको ‘बर्ड ३’ परियोजनामा पहिलोपटक श्रीलंका र नेपालले स्याटेलाइट प्रक्षेपण गर्न सफल भए भने जापानले पनि आफ्नो अर्को स्याटेलाइट प्रक्षेपण गर्यो ।

यो स्याटेलाइट प्रक्षेपणसँगै अन्तरिक्ष अनुसन्धानमा नेपालको पनि पहुँच पुगेको छ । यसलाई कतिपय वैज्ञानिकहरुले फलामे ढोका खोलिएको बताएका छन् । यसका लागि ग्राउण्ड स्टेशन निर्माण, उपकरण, एन्टेना, दक्ष प्राविधिक, वैज्ञानिक र ठूलो लगानी आवश्यक पर्नेछ । सरकारले आउँदो वर्षमा विज्ञान र प्रविधिका क्षेत्रमा कति बजेट छुट्याउँछ भन्ने कुरामा पनि यो निर्भर हुनेछ ।

तर नेपालको पहिलो आफ्नै स्याटेलाइट भएका कारण नासा, ज्याक्साले पनि प्रत्यक्ष सहयोग गर्ने नास्टको आशा छ । जमिनपछि आकाश अर्थात अन्तरिक्ष अनुसन्धानमा लागेको नासाले पनि अब नेपालको अनुसन्धान क्षेत्रमा प्रत्यक्ष सहयोग गर्ने विश्वासिलो उदाहरण पाएको छ ।

Loading...