नयाँ वर्षसँगै नेप्से छलाङ मारेर १२ सय नाघ्यो

काठमाडौं, ३ बैशाख । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) नयाँ वर्षसँगै उच्च गतिमा उकालो लागेको छ । नयाँ वर्षपछि खुलेको पहिलो दिन ४ अंकले बढेको नेप्से दोस्रो दिन छलाङ मार्दै २३.३३ अंकले बढेर १२१२.०५ मा पुगेको छ ।

मंगलबार नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १५ प्रतिशतले बढेर २६०.२४ अंकमा पुगेको छ । मंगलबार कूल कारोबार ७४ करोड २७ लाखभन्दा बढी रकमका लागि २४ लाख ११ हजार बढी कित्ता सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी एनएमबी बैंकको कारोबार भएको छ । उक्त बैंकको ६ करोड ७० लाख भन्दा बढीको कारोबार भएको छ । त्यसलाई एनआईसी एसिया र प्रभु बैंकले पछ्याएका छन् ।

मंगलबार कारोबार भएका १० वटा समूह मध्ये सबै समूहका परिसूचक उकालो लागेका छन् । त्यसमध्ये बैंकिङ समूहका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।

श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ६.६६ प्रतिशत नाफा कमाए भने सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीका लगानीकर्ताहरुले ३.२२ प्रतिशत गुमाए ।

Loading...