नेपालद्वारा ओमन फराकिलो रन अन्तरले पराजित

काठमाडौं, ३ बैशाख । नेपालले आइसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा ओमनलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा जारी छनौट खेलमा ओमनलाई नेपालले १५० रनले पराजित गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३।२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रनको चुनौती प्रस्तुत गरेको थियो । ओमन २३० रनको लक्ष्य पछ्याउने क्रममा ४४.१ ओभर खेल्दै ७९ रनमा समेटियो । ओमनलाई सस्तैमा समेटने क्रममा पवन सर्राफले सर्वाधिक ३ विकेट लिए । उनलाई अन्य बलरले समेत गतिलो साथ दिए । सो क्रममा प्रतिस जिसी र सुर्य तामाङले समान २ विकेट लिए भने कुशल मल्ल, भिम सार्की र कमलसिंह ऐरीले १÷१ विकेट लिए ।

आजको खेलमा सर्वाधिक रन बनाएर रोहित पौडेल म्यान अफ दी म्याच भए । नेपाली टोलीका कप्तान रहेका रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिएका थिए । उनले ४ चौका र २ छक्का हिर्काएका थिए । त्यसैगरी खेलमा भीम सार्कीले ३९ रन बनाएका थिए । उनले ४३ बलमा २ चौका र एक छक्का हिर्काए ।

खेलको अन्त्यतिर प्रतिश जिसीले आक्रामक इनिङ खेल्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याए । प्रतिशले मात्र २३ बलमा ४१ रन बनाए । यसक्रममा उनले ४ छक्का र २ चौका हिर्काए । अभिषेक बस्नेतले १५ रनको योगदान दिए ।

ओमानका लागि मुजहिर राजा, सञ्जय रवीन्द्र, आजम अली र जिल तन्नाले २–२ विकेट लिए । हालसम्म नेपालले दुई खेलमा जीत र एक खेलमा हार बेहोर्दै समूहको दोस्रो स्थानमा रहेको छ ।

नेपाल ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । विश्वकपमा सहभागी हुन ८ अंकका साथ शीर्ष स्थानमा रहेको युनाइटेड अरब इमिरेट्सलाई उछिन्नु पर्ने चुनौती छ । अन्तिम खेलमा युएईले आफ्नो खेलमा पराजित भए र नेपालले आफ्नो खेल जितेमा मात्र छनौट हुने सम्भावना रहन्छ ।

Loading...