प्रचण्ड र बादललाई एक पूर्व जनमुक्ति सेनाको प्रश्न, के म शान्तिपूर्वक बाँच्न पाउँदिन ?

देशमा निरंकुश राजतन्त्रकाे ठाउँमा लोकतान्त्रिक गणतन्त्र आएको छ । वर्तमान व्यवस्था ल्याउन हजारौं जनताको रगत बग्यो । हजारौंको त्याग, तपस्या र बलिदानबाट देश र जनताले गणतन्त्र र समाजवाद उन्मुख सविंधान पाएका छन् । जनताको बलिदानमा फेरिएको राजनीतिले जनताका छोराछोरी राष्ट्रपति बने । यो सबैका लागि गौरवकै विषय हो, हामीजस्ता गणतन्त्रका सेनानीहरुका लागि अझ बढी ।

म यो उपलब्धिको विरोधी किमार्थ बन्नै सक्दिन । गणतन्त्रसँग मेरो जीवन मरणको साइनो छ । हिजाे प्रचण्ड र बादलहरुको आदेशमा निरङ्कुश राजतन्त्र ढाल्न बन्दुकको ट्रिगर दवाउने हजारौंमध्ये एउटा म पनि थिएँ । त्यसकारण पनि आफ्नै इतिहास विरुद्ध म कसरी उभिन सक्छु र । तर, यी सबै खुसी र गौरवबीच यही गणतन्त्रको प्रहरी प्रशासनले मलाई केही समयदेखि धरपकड, खानतलासी र निगरानी गरिरहेको छ । देशद्रोहीलाई जस्तो व्यवहार गरिरहेको छ ।

संविधानले हरेक नेपाली नाकगरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । म पनि यही देशको नागरिक हुँ । मसँग नेपाल सरकराले दिएको वंशजकै नागरिकता छ । हिजाेका दिनमा मैले राजतन्त्र विरुद्ध बन्दुक बोकेकै हो । राजतन्त्र विरुद्ध लड्नेहरु सबैलाई यो सरकारले कारवाही गर्न खोजेको हो भने यो सरकारप्रति मेरो कुनै गुनासो छैन् । होइन भने मैले पनि एउटा नागरिकको हैसियतमा स्वतन्त्रपूर्वक बाँच्न किन नपाउने ?

मैले कमरेड प्रचण्डको नेतृत्वमा बन्दुक बोकेको कुरा स्वीकारेकै छु । तर, ती इतिसाहका कुरा भइसकेका छन् । अहिले म एक व्यवसायी हुँ । म गणतन्त्र सरकार विरुद्धको कुनै गतिविधिमा सम्लग्न छैन । यतिबेला मसँग नेपाल सरकराले दिएको नागरिकतावाहेक कुनै पार्टीको सदस्यता पत्र छैन । जनयुद्धका नायक प्रचण्डले गणतन्त्रका सेनानीहरुलाई भेट्रान सर्टिफिकेट दिनेछौं भनेका थिए । त्यस्तो सर्टिफिकेट पाउने सौभाग्य पनि हामीलाई मिलेन । यतिबेलासम्म मसँग पूर्व जनमुक्ति सेना हुनुको गौरव छ । तर त्यही इतिहास मेराे जीवनका लागि विडम्बना बनिरहेको छ । किन प्रहरी प्रशासनले आतङ्ककारीकै जस्तो व्यवहार गरिरहेको छ ? गणतन्त्रवादी सरकरासँग मेरो प्रश्न छ ।

सरकार के मैले देशको नागरिकको हैसियतमा संविधानले प्रदान गरेको मौलिक अधिकारको अरुलाई असर नपुग्नेगरी उपयोग गर्न पाउदिन ? कि सरकारले यसकारण तैले पाउदैनस् भनिदेअाेस् । म सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग अनुरोध गर्न चाहन्छु के मरो स्वतन्त्रतापूर्वक बाँच्न पाउने जन्मसिद्ध अधिकार राज्यले विना कारण खोस्न पाउछ ?

गरिव जनताको मुक्ति हुन्छ कि भनेरै म २०५६ सालबाट तत्कालीन माओवादी पार्टीकाे नेतृत्वमा भएकाे जनयुद्धमा होमिएको थिए । त्यतिवेला भर्खरै जुँगाको रेखी बस्दै थियो । माओवादी आतङ्ककारीको नाममा २०५८ देखि २०६० सम्म रामेछाप कारगारमा हरेक क्षण जीवन मरणको दोसाँधमा कटाएकै हो । जेलबाट निस्केर जनमुक्ति सेना भइयो र थुप्रै मोर्चा लडियो । २०६२ माघ २५ गते काभ्रेको पनौतीमा भएको भिडन्तमा म घाइते भए । मलाई जनयुद्धले चुडाबहादुर खड्काबाट कमरेड मिलन बनायाे ।

भिडन्तमा परेर घाइते भएको शरिर र हिरासतको चरम यातनाका कारण मेराे फोक्सो र किड्नीमा गम्भीर असर छ । यही नै मेरो जिन्दगीले जनयुद्धमा लागेर कमाएको उपहार हो । यो विमारलाई युद्धको निसानी सम्झेर हरेक बिहान-बेलुका ४५० को औषधी खुवाउँदै स्याहार सुसार गरिरहेको छु । मैले आफ्नो कलकलाउदो बैंस यही गणतन्त्रका लागि दिए । यसको बदलामा सरकारसँग मैले अरु केही मागेकाे छैन् । मलाई तिम्रा अरु कुनै सुविधा चाहिदैन । म अाफ्नाे व्यवसाय गरेर बस्न चाहन्छु । अहिले थुप्रैले जनयुद्धकाे ब्याज खाइरहेका छन् । तर, म केही पनि चाहदिन । बस् स्वतन्त्रन्तापूर्वक बाँच्न देऊ । मलाइ मेराे व्यवसाय गर्न देउ ।

के मैले याे देशकाे नियम कानुनभित्र रहेर आफ्नाे व्यवसाय गर्न पाउँदिन सरकार ? मैले व्यवसाय गर्दा सरकारकाे के टाउकाे दुख्छ ? किन म र मजस्तै साथीहरुका वरिपरि राज्यले सुरक्षा संयन्त्र परिचालन गरेर दुख दिन खाेजिरहेकाे छ । के याे न्याय हाे ? आज एकातिर त्यही जनयुद्धमा म जस्ता हजाराै नेपाली दाजुभाइ दिदी बहिनीहरुकाे रगतले नेता बनेकाहरु शासन सत्तामा बस्ने, तिनलाइ केही पनि नहुने तर हामी तिनै नेताकाे आदेश मानेर हिजाे लडेकाहरुमाथि यत्राे सास्ती किन ?

सरकारले बुझ्नुपर्दछ युद्ध त्यत्तिकै सुरु हुँदैन । र, युद्धलाइ अहिलेकाे सरकारले दिएकाे जस्ताे धम्कीले राेक्न पनि सकिदैन । क. प्रचण्ड र बादलले पनि बुझ्नुपर्छ कि हिजाे २०५२ सालमा जनयुद्ध सुरु गर्दा राज्यकाे व्यवहारले त्याे जनयुद्ध विस्तार हुन कति सहयाेग पुगेकाे थियाे । आज पनि राज्यकाे त्यस्तै ब्यवहारले मानिसहरुलाइ जवरजस्त युद्धमा धकेल्न बाध्य पारिन लागिएकाे छैन र । प्रचण्ड बादलले बुझ्नुपर्छ कि अब पनि हिजोकै जस्तो लडाइँ हुँदैन धेरै कुरा विकसित भैसकेको छ । हिजो १७००० ले बलिदान गर्नुपर्याे । आज तपाईंले बिप्लबलाई लगाएको प्रतिबन्धले एक लाख मानिस सहिद हुनेछन । अब यदि युद्ध सुरु भयाे भने हिजाेकै जस्ताे क्षति हुँदैन । त्यसकाे क्षति कल्पना गरेभन्दा बढी हुन्छ । यति हुँदा हुँदै पनि राज्य युद्धउन्मुख व्यवहार किन गरिरहेकाे छ । राज्यले जवरजस्त युद्ध लड्न खाेज्नु कदापी सहि हुनसक्दैन । यदि राज्य युद्ध गर्नै आयाे भने त्यसकाे जवाफमा हुने घटनाहरुकाे भयानकता कम्तिमा हिजाे युद्ध लडेका प्रचण्ड बादलले गर्नुपर्दैन ? याे मेराे सुझाव मात्र हाे । मेराे कुरा म स्वतन्त्रतापूर्वक बाँच्न र अाफ्नाे व्यवसाय गर्न चाहन्छु ।