कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण

पर्वत १० चैत । जिल्ला कारागार पर्वतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो ।

पर्वत जिल्ला कारागारमा रहेका ९७ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सजिला महर्जनले जानकारी दिएका छन । कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीको एचआइभी परीक्षण गर्नुका साथै सबैको क्षयरोग र पूर्णरूपमा स्वास्थ्य परीक्षण गरिएको महर्जनले जानकारी दिएका छन ।

परीक्षण गरिएका सबै कैदीबन्दीमा एचआइभी नभेटिएको र जटिल खालका बिरामी पनि नभेटिएको महर्जनले बताए । उनका अनुसार केही बिरामीमा मधुमेहको समस्या देखिएकोले थप परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा बोलाइएको छ । कारागारका कैदीबन्दीको जिल्ला अस्पताल पर्वतका चिकित्सकले परीक्षण गरेका थिए ।

परीक्षणका क्रममा सामान्य रुघाखोकी र नियमित औषधि सेवन गर्नुपर्नेलाई औषधिसमेत वितरण गरिएको थियो । विभिन्न कसुरमा बन्दी जीवन बिताइरहेकालाई कारागारभित्र रहुञ्जेलसम्म स्वस्थ राख्ने उद्देश्यले पहिलोपटक स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिएका छन।

पच्चीस कैदीबन्दी क्षमताको जिल्ला कारागारमा अहिले झण्डै चारगुणा बढी रहेका छन् । सङ्ख्या अत्यधिक हुँदा बसोबासमा समस्या भएको उनीहरुको गुनासो छ ।

Loading...