काठमाडाैं । कला संस्कृति सिर्जनाको नेपाली इतिहासमा लिच्छवी काल स्वर्ण युग मानिन्छ । नेपाल अधिराज्यका अनेकौ भगवती पिठ मध्येमा काभ्रेपलाञ्चोक जिल्लामा पर्ने पलाञ्चोक भगवती एक प्रमुख मन्दिर हो । अधिराज्यकै सर्वाधिक कलात्मक भगवतीको मुर्ति काठमाडौँ उपत्यकाबात ६० कि. मि दक्षिण पूर्वमा अवस्थित डाँडामा स्थापित छ ।
किम्वदन्ती अनुसार हाल देवीको मन्दिर भन्दा नजिकै रहेको अर्को डाँडा बुर्जाकोट भन्ने स्थानमा कुनै अज्ञात कलाकारले प्रसिद्द कलात्मक भगवतीको मुर्ति बनाई आठजनाको समूहले बोकी काठमाडौँतर्फ ल्याउदै गर्दा हालको पलाञ्चोक स्थानमा आइपुग्दा आठै जनाले मुर्ति बोक्न सकेनन् । केहीगर्दा पनि मुर्ति उठाउन नसके पछि अन्तत देवीको मुर्तिलाई विधिपुर्वक सोहि डाँडामा प्रतिष्थापित गराएको आख्यानमा उल्लेख गरेको पाइन्छ ।
अज्ञात कलाकारले निर्माण गरेको निकै सुन्दर मुर्ति त्यो बेलाका शासकले उस्तै कलात्मक मुर्ति अन्य स्थानमा नबनाउन भनि कलाकारको दाँया हात काटिदिए । सोही कलाकारले बायाँ हताले कलालाई निरन्तरता दिँदै काठमाडौँको नक्सालमा रहेको नक्साल भगवतीको मुर्ति बनाए, कलाकारको बायाँ हात पनि काटियो । सुर्यको किरणलाई हत्केलाले छेकेर छेकिन्न भनेझैँ कलाकारको कलालाई पनि कलाकारले हातहरु विना दुवै खुट्टाको साहाराले काठमाडौँकै विष्णुमति किनारमा रहेको सोभा भगवतीको मुर्ति निर्माण गरे । निरङ्कुश लिच्छवी शासकको क्रुड आक्रोशमा सो कलाकारको बचेको खुट्टा समेत काटी बनेपाको चण्डेश्वरी भगवति स्थानमा ठुटो शरीर फ्याक्न लगाएको भन्ने भनाइ छ ।
पलाञ्चोक भगवती मन्दिर पछाडि लिच्छवीकालीन राजा मानदेव प्रथम संवत् ४२५ शिलापत्र अंकित छ । मल्लकालमा आएर ने. स ८६१ मा मन्दिर वरपर विभिन्न अनन्य देवदेवीको मुर्ति स्थापना गरेको पाईन्छ । ६ रोपनी क्षेत्र फलमा फैलिएको पलाञ्चोक भगवती वैशाख १२ को महाभूकम्पले पूर्ण क्षति पुर्याएपछि हालै पुननिर्माण सम्पन्न भएको हो ।
रमणीय यस क्षेत्रमा नजिकै रहेको कालिका देवी मन्दिर र दोलखा भीमसेन अन्य धार्मिक स्थलका रुपमा परिचित छ ।
नेपल मण्डल संम्पदाबाट