एनसेल आक्रमणको आरोपमा भुजेललाई कन्चटमा पेस्तोल तेस्र्याएर ४ दर्जन पुलिसले पक्रेको खुलासा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेलले आफूलाई सरकारले झूट्टा मुद्दा लगाएर फसाउन खोजेको बताएका छन् । एनसेलमा घटना भएको बेला आफू बनेपामा आफन्तको घरमा बसिरहेको बताएको र प्रहरी आफैँले बुझ्दा बनेपामा भएको पुष्टि भए पनि जबर्जस्ती झूट्टा आरोप लगाएको उनले बताए ।

ललितपुरस्थित जिल्ला अदालत प्राङ्गणमा आफन्त र पत्रकारसँग कुरा गर्दै उनले प्रश्न गरे, ‘बिनाप्रमाण जबर्जस्ती मुद्दा लगाउने काम भइरहेको छ । घटना भएको बेला म बनेपामा भएको प्रहरीले आन्तरिक रूपमा बुझ्दा पनि पुष्टि भएको छ । फेरि मलाई किन कर्तव्य ज्यान र बम बिस्फोट मुद्दा लगाएको ?’

पक्राउ परेकै दिन आफूलाई चरम यातना दिएर जबर्जस्ती स्वीकार गर्न लगाउने षड्यन्त्र गरे पनि आफू घटनामा संलग्न नभएकाले कुनै हालतमा स्वीकार नगरेको उनले बताए । आफन्तको बिहेमा सहभागी भइरहेका बेला भुजेललाई फागुन १४ गते एसपीको नेतृत्वमा करिब चार दर्जन सादा पोसाकका प्रहरीले घेरा हाली अपहरणशैलीमा पक्रेको थियो ।

‘पेस्तोल देखाएर करिब चार दर्जन प्रहरीले बिहेमा आएका सर्वसाधारणलाई समेत आतङ्कित पार्दै मलाई पक्राउ गरे’, उनले भने, ‘त्यसपछि सिंहदरबार प्रहरी कार्यालयमा ममाथि कुटपिट भयो । मैले म निर्दाेष सामान्य कार्यकर्ता हुँ भन्दाभन्दै पनि कुटियो ।’ भुजेललाई मङ्गलबार जिल्ला अदालत ललितपुरले ८ दिन म्याद थपेको छ ।

नेकपाले अरबौं करछली गर्दै आएको एनसेलमाथि नेकपाले गत १० गत सांकेतिक कारवाही गरेको थियो । त्यसयता ओली सरकारले नेकपाका नेता कार्यकर्तामाथि व्यापक धरपकड बढाएको छ । मंगलबार मात्रै प्रहरीले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य योगेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कपिलवस्तुको भैरहवाबाट पक्राउ गरेको हो । त्यस्तै सुर्खेतबाट सोही पार्टीका विद्यार्थी नेता पुष्प न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अखिल (क्रान्तिकारी) का भेरी संयोजक रहेका न्यौपानेलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका न्यौपानेलाई मंगलबार प्रहरीले गिरफ्तार गरेको हो ।

क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर बिकका अनुसार भेरी क्षेत्रीय समन्वय समिति संयोजक न्यौपाने संगठनक कामको सिलसिलामा नेपालगंजबाट सुर्खेत जाँदै गर्दा प्रहरीले गिरफ्तार गरेको छ । गैरन्यीयक गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । नेता न्यौपानेलाई तत्काल रिहा नगरे संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने बिकले चेतावनी दिएका छन् ।

मंगलबार नै प्रहरीले दाङको तुलसीपुरमा नेकपाका ३ जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा नेकपा दाङ जिल्ला पार्टीका कार्यालय सदस्य प्रदीप वली, जिल्ला सचिवालय सदस्य ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई बिनाकारण सहिद तथा बेपत्ता योद्धा परिवार अभिनन्दन कार्यक्रमस्थलबाटै गिरफ्तार गरेको हो ।

कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका प्रदीप वली, कार्यक्रममा घाइते अपाङ्गबाट अभिनन्दित भएका घाइते ईश्वरी पाण्डे र कार्यक्रम आयोजक सदस्य रुद्र वलीलाई कार्यक्रमस्थलबाटै गिरफ्तार गरिएको हो । उनीहरुलाई पक्राउ गर्नुको कारण प्रहरीले अहिलेसम्म खुलाएको छैन ।

 

Loading...