शिक्षा दिवसका सन्दर्भमा उत्कृष्ट विद्यालय पुरस्कृत

७ सय २१ ले पाए विशेष सम्मान

पैतीसौं राष्ट्रिय शिक्षा दिवसको अवसरमार देशका विभिन्न उत्कृष्ट विद्यालयहरुलाई सरकारले पुरस्कृत गरेको छ । राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरका गरी थुप्रै विद्यालयहरु यसपटक पुरस्कृत भएका हुन् । शिक्षा मन्त्रालयले ती विद्यालयको प्रवेशिका परीक्षामा प्राप्त गरेको अंक, त्यहाँ रहेका विद्यार्थी सङ्ख्यालगायत विभिन्न पक्षको अध्ययन मुल्याङ्क पुरस्कृत घोषणा गरेको हो । पुरस्कृत गरिएका विद्यालयहरुले वर्षकै उत्कृष्ठ विद्यालयको प्रमाणपत्रसहित नगद पुरस्कार पनि प्राप्त गरेका छन् । त्यसैगरी शिक्षामा विशेष योगदान गर्ने ७ सय २१ जनालाई सरकारले पुरस्कृत गरेको छ ।
यस वर्षको उत्कृष्ट सामुदायिक विद्यालयको राष्ट्रिय पुरस्कार ललितपुरको आदर्श सौल युवक उच्च माध्यमिक विद्यालयले प्राप्त गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले सो माविलाई दुई लाख नगद पुरस्कारसहित, राष्ट्रिय शिल्ड र उत्कृष्ट भएको प्रमाणपत्र वितरण गरेको हो । सरकारले प्रत्येक वर्ष शिक्षा दिवसका दिन सामुदायिक सहित अन्य विधामा उत्कृष्ट विद्यालय, विद्यार्थी तथा शिक्षा विकासमा महत्वपूर्ण योगदान गर्नेहरुलाई पुरस्कृत गर्दै आएको छ । अघिल्लो वर्ष शिक्षा दिवसका दिन घोषणा गरिएका विभिन्न व्यक्तित्वहरुलाई यसपटक पुरस्कृत गरिएको छ भने अर्को वर्ष पुरस्कृत गर्नका लागि शिक्षामा विशेष योगदान गरेका व्यक्तिका नाम घोषणा गरिएको छ । 
यसपटक संस्थागत विद्यालयतर्फ बुढानिलकण्ठ स्कूल काठमाडौले राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । शिक्षा दिवसका दिन विद्यालयलाई पुरस्कृत गरिएको हो । शिक्षामन्त्री चित्रलेखा यादवले दुबै विद्यालयलाई पुरस्कार र प्रमाणपत्र दिएकी हुन् । दुवै विद्यालयले २ लाख रुपियाँ नगद सहित राष्ट्रिय शिल्ड, प्रमाणपत्र र ध्वजा प्राप्त गरेका छन् । 
यसैगरी प्रत्येक विकास क्षेत्र स्तरमा पनि विद्यालयहरुले क्षेत्रीय पुरस्कार प्राप्त गरेका छन् । क्षेत्रीय पुरस्कार प्राप्त गर्ने सबै पाँच वटा विद्यालयले १ लाख रुपैयाँ नगद सहित क्षेत्रीय शिल्ड, प्रमाणपत्र र ध्वजा प्राप्त गरेका छन् । क्षेत्रीय स्तरमा पुरस्कार प्राप्त गर्नेमा सामुदायिक विद्यालयतर्फ पूर्वाञ्चलको सिंहकाली माध्यमिक विद्यालय तेह्रथुम, मध्यमाञ्चलको बलम्बु माध्यमिक विद्यालय बलम्बु काठमाडौ, पश्चिमाञ्चलको सत्यवती माध्यमिक विल्द्यालय तनहु, मध्यपश्चिमाञ्चलको मालिका माध्यमिक विद्यालय जुम्ला र सुदूरपश्चिमाञ्चलको जनप्रकाश माध्यमिक विद्यालय बाजुरा रहेका छन् ।
यसपटक विकट कर्णालीको जुम्लाका दुई माध्यमिक विद्यालयले उत्कृष्ट भएका छन् । मालिका माध्यमिक विद्यालयले मध्यपश्चिमाञ्चल क्षेत्रीय पुरस्कार पायो भने जुम्लाकै पाण्डव गुफा माध्यमिक विद्यालयले दुर्गम विद्यालयहरुमा उत्कृत भयो । पाण्डवगुफा विद्यालयलाई पनि दुर्गमका विद्यालयहरुमा उत्कृष्ट भए वापत १ लाख नगद पुरस्कार सहित शिल्ड, प्रमाणपत्र र ध्वजा प्रदान गरियो । 
त्यसैगरी सरकारले संस्थागत विद्यालयतर्फ पनि क्षेत्रीय स्तरका उत्कृष्ट विद्यालय घोषणा गरेको छ । साथै तिनलाई पुरस्कृत पनि गरेको छ । जसअनुसार पूर्वाञ्चल विराटनगरको एभरेस्ट इङलिस बोर्डिङ स्कूल, मध्यमाञ्चलको नाइटिङ्गेल स्कूल कुपण्डोल ललितपुर, पश्चिमाञ्चलको गण्डकी उच्च मावि लामाचौर पोखरा र मध्यपश्चिमाञ्चलको तुलसी आवासीय मावि दाङ र सुदुरपश्चिमाञ्चलको इन्टरनेसनल पब्लिक स्कूल कञ्चनपुरले क्षेत्रीय स्तरमा उत्कृष्ट विद्यालयको उपाधी प्राप्त गरेका छन् । संस्थागततर्फ उत्कृष्ठ भएका विद्यालयलाई पनि १ लाख रुपिया नगद, क्षेत्रीय शिल्ड, ध्वजा, र प्रमाणपत्र प्रदान गरिएको छ ।
शिक्षा मन्त्रालयले राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो । ३५ औ राष्ट्रिय शिक्षा दिवस र अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मन्त्रालयले उक्त कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा शिक्षामन्त्री चित्रलेखा यादवले उत्कृष्ट घोषित विद्यालयलाई पुरस्कार वितरण गरेकी हुन् । सोही कार्यक्रममा बोल्दै शिक्षामन्त्री यादवले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको अवस्था कमजोर रहेकोले सामुदायिक विद्यालयको गुणस्तर विकास गर्नुपर्नेमा जोड दिइन् । सामुदायिक विद्यालयको गुणस्तर विकास गर्नु राज्यको अहिलेको चुनौती नै रहेको पनि उनको भनाई थियो । त्यसका लागि सरकारका साथै निजी क्षेत्र, समुदाय र सबैले चासो र चिन्ताका साथ सहयोग गर्नुपर्ने उनको जोड थियो । 
त्यसैगरी सोही कार्यक्रममा शिक्षा सचिव विश्वप्रकाश पण्डितले पनि आफ्ना धारणा राखेका थिए । उनले सक्षम शिक्षक भए मात्र शिक्षामा उल्लेखनीय सुधार हुने बताए । अहिले उत्कृष्ट घोषणा भएका विद्यालयमा पनि शिक्षकहरुको नेतृत्व सवल भएका कारण त्यहाँको गुणस्तर राम्रो रहेको उनको भनाई थियो । सचिव पण्डितले शिक्षामा अब सबैले सामूहिक प्रतिवद्धताका साथ अघि बढ्नुपर्ने बताए । सो क्रममा सचिव पण्डितले साक्षरता कार्यक्रम पनि राम्ररी अघि बढिरहेको बताए । अहिलेसम्म ५ जिल्ला साक्षर घोषणा भइसकेको बताउँदै  अन्तराष्ट्रिय साक्षरता दिवस मनाउनुभन्दा एक दिव अघिमात्र चितवन र स्याङ्जा साक्षर घोषणा गरिएको जानकारी दिए । 
३५ औं राष्ट्रिय साक्षरता दिवसकै अवसरमा राष्ट्रपति निवास शितल निवासमा विशेष समारोहको आयोजना गरिएको थियो । समारोहमा राष्ट्रपति रामवरण यादवले विभिन्न व्यक्तिहरुलाई विद्याभुषण पदक प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपति डा. यादवले १ सय ७५ जनालाई नेपाल विद्याभुषण पदक ‘क’, ६२ जनालाई नेपाल विद्याभुषण ‘ख’ र २० जनालाई नेपाल विद्याभुषण ‘ग’ प्रदान गरेका थिए । त्यसैगरी सोही अवसरमा २६ जनालाई स्नातक तहको नेपाल छात्रा विद्या पदक प्रदान गरिएको थियो । साथै १४ जनालाई प्रमाणपत्र तह अन्तर्गत नेपाल छात्रा विद्या पदक पनि प्रदान गरिएको थियो । 
३५ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालयले जलपान कार्यक्रम पनि आयोजना गरेको थियो । पुरानो शिक्षा मन्त्रालय रहेको ठमेलस्थित केशरमहलको गार्डेनमा उक्त जलपान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न संघ, संस्था तथा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।  
Loading...