दुर्गममा अझै पुगेनन् पुस्तक

जाजरकोट । विद्यालय तहको त्रैमासिक परीक्षा सकिएको पनि एक महिना भइसक्यो तर जाजरकोटका विद्यार्थीहरुले अहिलेसम्म पुस्तक पाएका छैनन् । पुस्तक विनै विद्यार्थीहरुले त्रैमासिक परीक्षा दिए र अहिलेसम्म पढिरहेका छन् । जाजरकोटमा गत असार १५ गतेबाट विद्यालयमा एक महिने वर्षे विदा सुरु भएको थियो । एक महिने विदा सकेर साउन १५ गते विद्यालयमा फर्किदा पनि विद्यार्थीहरु पुस्तक विनै आइरहेका छन् । 

जिल्ला शिक्षा कार्यालयका अनुसार पाठयपुस्तक बल्ल बल्ल सदरमुकाममा भने पुगेका छन् । तर, विद्यालयले नलिएका कारण विद्यार्थीले पुस्तक नपाएका हुन् । सदरमुकाममा अधिकांश विद्यालयका पुस्तक थन्किएका छन् । पहिलो त्रैमासिक परीक्षा शिक्षकले पनि पाठ्यपुस्तक नहेरेरै पढाए । विद्यार्थीले पनि पुस्तकको मुखै नदेखेर परीक्षा दिए । 

कक्षा सात वाहेक अरु कक्षाका विद्यार्थीहरुलाई त शिक्षकहरुले पुराना किताब हेरेर पढाएका छन् । तर, कक्षा सातका विद्यार्थीहरु भने निकै ठूलो मर्कामा परे । कक्षा ७ को यसपटक कोर्स परिवर्तन भएका कारण यस्तो समस्या भएको हो । 

शिक्षा कार्यालयका अनुसार लामो समयदेखि ताकेता गर्दा पनि जिल्लामा पुस्तक पुगेनन् । सुरुमा त जनक शिक्षा सामाग्री केन्द्रले समयमै पुस्तक नछापेका कारण जिल्लामा पुस्तक पुग्न ढिला भएको केन्द्रको जवाफ आउथ्यो । अहिले भने सदरमुकाममा पुस्तक पुग्दा पनि विद्यार्थीले पुस्तक पाएका छैनन् । जिल्लामा करिव १० हजार विद्यार्थीले अहिलेसम्म पुस्तक पाएका छ्रैनन् । जिल्ला शिक्षा कार्यालयको रेकर्डमा भने सबै विद्यालयले पुस्तक बुझिसकेका छन् । 

जाजरकोटका अधिकांश विद्यालयका दुई वटा कार्यालय हुन्छन् । एउटा विद्यालयमै हुन्छ भने अर्को सदरमुकाममा हुन्छ । ती विद्यालयले सदरमुकामको कार्यालयमा पुस्तक थन्काएका छन् । यसरी पाठयपुस्तक सदरमुकाममा थन्क्याउने विद्यालयहरु जिल्लाका पूर्वी र उत्तरी भेगका विद्यालयहरु छन् । रग्दा, भगवती, नायकवाडा, रामीडाँडा, सक्ला, रोकायगाउँ, टालेगाउँ लगायतका गाविसका विद्यालयले पुस्तक अहिलेसम्म नलगेका हुन्् ।

सदरमुकाममा कार्यालय पनि दुरुपयोग भएको देखिन्छ । विद्यालयले आफ्नो खाताबाटै सदरमुकामको कार्यालयको भाडा तिर्छन । तर, ती कार्यालयमा भने प्रअका छोरा छोरी र आफन्तहरुले प्रयोग गरिरहेका भेटिन्छन् । विद्यालयका अरु कर्मचारी तथा शिक्षकहरु आउँदा उनीहरुले प्रयोग नै गर्न पाउँदैनन् ।