काठमाडौँ, १८ माघ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ ।
परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत उनीहरूलाई पक्राउ गरी कारवाही गरिएको हो । परिसर र महाशाखाले आज पत्रकार सम्मेलन गरी विशेष अभियान सञ्चालन गरी चोरी गर्नेलाई रङ्गेहात पक्राउ गरी कारवाही गरेको जानकारी दिएको हो ।
परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले दिउँसोको समयमा बढी मात्रामा चोरी तथा लुटपाट हुने गरेको जानकारी दिए । “अरु सामग्रीको तुलनामा नगद, सुन, चाँदी बढी चोरी हुने गरेको छ”,उनले भने ।
साथीभाईको संगत, विगतको घरमा बसेर विगतको घरबेटीको बारेमा सबै जानकारी पाएका, भारतबाट नेपालमा आएर विभिन्न व्यवसाय गर्ने व्यक्ति चोरीमा बढी संलग्न भएको परिसरले जनाएको छ ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले १८ देखि ३० वर्ष उमेरका व्याक्ति बढी चोरीमा संलग्न भएको पाइएको बताए । “प्रहरीले शुरु गरेको ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमले चोरीमा संलग्न पक्राउ गर्न सजिलो भएको छ”,उनले भने ।
परिसर र महाशाखाको टोलीले हिजो र आजमात्र बानेश्वरबाट १७, महाराजगञ्जबाट १३, न्यूरोडबाट ८, थानकोटबाट नौलाई पक्राउ गरेको छ भने ८३ जनासँग अनुसन्धान गरिरहेको छ । दुई महिला र १९ पुरुष धरौटीमा छुटेका छन् । यस्तै तीन महिला र २१ पुरुषलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।