काठमाडौं ।
पेट्रोल डिजेलको बढ्दो मूल्यको विरोधमा कांग्रेस आईले आज भारत बन्द आह्वान गरेको छ । भारत बन्दको प्रमुख असर बिहार, राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, ओडिशा, आन्ध्रप्रदेश, तेलंगाना र कर्नाटकमा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बन्दका कारण पूर्वी तटवर्ति रेल्वे जोनले १२ वटा रेल बन्द गर्यो । मुम्बईम कांग्रेस नेता सञ्जय निरुपमलाई पक्राउ गरिएको छ । उनीमाथि प्रहरीलाई हातपात गरेको आरोप छ ।
कांग्रेस आईका अध्यक्ष राहुल गान्धी वरिष्ठ नेताहरुका साथमा दिल्लीमा विरोध प्रदर्शन गरिरहेका छन् । यसभन्दा अगाडि उनले राजघाटमा महात्मा गान्धीलाई श्रद्धान्जली दिएपछि र्याली निकालेका थिए । राहुलका साथ प्रदर्शनमा उनकी आमा सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, एनसीपी प्रमुख शरद पवारलगायत छन् ।
बिहारमा जनअधिकार पार्टीका कार्यकर्ताहरुले ट्रेन तथा सडकमा चलिरहेका सवारी साधनमा तोडफोड गरेका थिए । आन्ध्रप्रदेशको विशाखापट्नममा सडक जाम गरेर प्रदर्शन भइरहेको छ । गुजरातमा सडकबीच टायर बालेर विरोध प्रदर्शन गरिएको छ ।
कांग्रेसका अनुसार सरकारको नीतिविरुद्धमा आह्वान गरिएको बन्दमा देशभरका २० विपक्षी पार्टी र कैयौं व्यापारिक संगठनले समर्थन गरिरहेका छन् । यता आम आद्मी पार्टी (आप) ले भने यो बन्दलाई समर्थन गरेको छैन ।
कांग्रेस नेता अजय माकनले आइतबार पत्रकार सम्मेलन गरी भाजपाको राष्ट्रिय कार्यकारिणी बैंठकले महंगी, राफेलमा भएको भ्रष्टाछार, रुपैयाँको घट्दो मूल्य जस्ता जनसरोकारका मुद्दामा कुनै छलफल बताए । आजको बन्दले सरकारलाई इन्धनको मूल्य घटाउन दवाव दिने उनको भनाई छ ।
२०७५ भदौ २५ मा प्रकाशित ।