जापानबासी नेपालीका समस्या बुझ्न पत्रकार रवि लामिछाने जापान आउदै

चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने जापानका नेपालीका समस्या र समाधानका बिषयमा छलफल गर्न जापान आउने भएका छन ।

यही सेप्टेम्बर २१ तारिख शुक्रबारका दिन बेलुकी ६ बजे टोकियोको नाकानो स्थित नाकानो जेरो हलमा पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको ‘जापानका नेपालीका समसामयिक बिषयमा छलफल तथा बृहत अन्तर्कृया’कार्यक्रममा पत्रकार लामिछानेको बिशेष प्रस्तुति रहनेछ ।

उक्त कार्यक्रममा पत्रकार लामिछाने संग ‘समाज रुपान्तरण तथा सामाजिक समस्याहरुको निराकरणमा संचार माध्यम र संचारकर्मीहरुले खेल्ने भूमिका’लगायतका विषयमा जापानवासी नेपाली समुदायबीच अन्तरकृया गरिने बताईएको छ ।

उक्त कार्यक्रममा लामिछानेले प्रस्तुत गरेका समसामयिक विविध घटनाक्रमहरुका बारेमा पत्रकार लामिछाने संग सहभागिहरुले आफ्ना जिज्ञासाहरु राखि अन्तर्कृया गर्न सकिने पनि आयोजक संस्था पत्रकार महासंघले जनाएको छ ।

रबि लामिछाने पछिल्लो समय सत्य तथ्य तथा निष्पक्ष समाचार संप्रेषण गरेर चर्चामा अाइरहने एक निडर पत्रकारका रुपमा चिनिने चर्चित पत्रकार हुन ।पत्रकार लामिछानेको न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनता संग’ कार्यक्रम देश बिदेशका नेपाली माझ निकै प्रभावकारी छ ।

महासंघको आयोजना तथा ईजिलिंक मनि ट्रान्सफरको सहयोगमा हुने उक्त कार्यक्रममा निशुल्क सहभागी हुन सकिने छ । कार्यक्रममा सहभागिताका लागि महासंघले जापानका सबै संचारकर्मीका साथै आम जापानबासीमा अपिल पनि गरेको छ ।

२१ तारिखकै दिन मध्यान्ह १२ बजे देखि पत्रकार महासंघ जापान शाखाको वार्षिक साधारण सभा शिनओकुबो स्थित सोलमारी मुरा हलमा आयोजना गरिएको छ ।साधारण सभा सकिए लगतै महासंघले पत्रकार लामिछाने संग अन्तर्कृया गर्ने भएको हो ।

पत्रकार लामिछानेले टोकियो लगायत जापानका मुख्य शहरहरुमा पनि समसामयिक बिषयमा छलफल तथा अन्तर्कृया जापानबासी नेपालीहरु संग गर्ने कार्यक्रम तय भएका छन ।

लामिछाने संग अन्तर्कृयाका लागि योकोहामा नागोया,सिजुओका , ओसाका र फुकुओकामा पनि कार्यक्रम तय भएका छन ।योकोहामामा २२ तारिख खानागाव नेपाली समुदाय, नागोयामा २२ तारिख एनआरएनए तोकाइ होकुरिकु तथा नेपाली समुदाय सिजुओकामा २२ तारिख चौतारी ग्रुप तथा नेपाली समुदाय ,ओसाकामा २३ तारिख संघ संस्थाहरु र फुकुओकामा पनि २३ तारिख हाम्रो नेपाल हामी नेपाली अभियान जापानले कार्यक्रमको आयोजना गर्ने पनि महासंघले जनाएको छ ।

पत्रकार लामिछाने जापानको कार्यक्रम सकिए लगतै कोरियाका नेपालीहरु संग अन्तर्कृया गर्न २४ देखि २६ तारिख सम्म कोरियामा रहने जनाइएको छ।

Loading...