काठमाडौं ।
तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थी अखिल क्रान्तिकारीको एकताका लागि गठित कार्यदलले नेतृत्व टुंगो लगाउन सकेको छैन । अध्यक्षका लागि रञ्जित तामाङ र ऐन महर अा-आफ्नै कोशिसमा जुटेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिकमन्त्रीसमेत रहेका नेता रवीन्द्र अधिकारी नेतृत्वको कार्यदलले ४ सय ९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एक तिहाई संख्यामा सचिवालय र सचिवालयको एक तिहाई स्थायी समिति रहने गरी प्रस्ताव गरेको छ ।
यस्तै एक संयोजक, एक महासचिव र सात जना सह–संयोजक रहने व्यवस्थासहितको प्रतिवेदन तयार पारिएको छ । तामाङ र महर दुवैले एकीकृत संगठनको नेतृत्व दाबी गरेपछि कार्यदलस्तरमा सहमति जुट्न नसकेको हो । यद्यपि कार्यदलमा रहेका चारमध्ये अधिकारीबाहेक नेकपाका युवा नेता रमेश मल्ल, अखिल अध्यक्ष नवीना लामा तामाङलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् । तामाङ स्वयं कार्यदल सदस्य छन् ।
स्रोतका अनुसार पूर्वएमाले र पूर्वमाओवादी दुवैतर्फका नेताहरुले पूर्वसमूहका आधारमा तामाङ र महरको नाम प्रस्ताव गर्न कार्यदलमा रहेका आफ्ना सदस्यलाई निर्देशन दिएपछि नेतृत्व टुंगो लाग्न नसकेको हो । कार्यदलमा सहमति जुट्न नसकेपछि दुई अध्यक्षलाई सहमतिका लागि आग्रहसहितको प्रतिवेदन बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
२०७५ भदौ ४ मा प्रकाशित ।