सत्ता जब निरकुंश र असहिष्णु हुँदै जान्छ, त्यसले सेन्सरसिपका विविध उपकरण प्रयोग गर्छ । त्यसले सिर्जनशील कवि–लेखकलाई पद, पुरस्कार, अलंकार र पगरीले लोभ्याउँछ, सम्मोहित गर्छ । त्यसले तिनलाई कवि शिरोमणि, जनकवि केशरी, राष्ट्रकवि आदि अलंकारको मह चटाउँछ र सत्ताको अदृश्य सिक्रीले बाँध्छ । लेखकलाई यसरी बाँध्नु टाट्नामा घाँस हालेर भेडाबाख्रालाई बाँध्नुजस्तै हो । जो यसरी बाँधिन्छ, त्यो सत्ताको ऐच्छिक बँधुवा भजनकर्मी बन्छ ।
जसले आफूलाई आत्मविक्रयको बजारमा राख्दैन र जो सत्य निष्ठाको शक्तिद्वारा यस्ता प्रभोलनहरूबाट जोगिन्छ, उसले मात्र निरंकुश सत्तासँग आँखा जुधाउन सक्छ, खाँचो पर्दा त्यसको प्रतिकार गर्न सक्छ । देखिने बाह्य सेन्सरसिपभन्दा नदेखिने आत्मसेन्सरसिप बढी दबाबकारी हुन्छ । आत्मसेन्सरसिप लेखकको लोभ र मोहबाट उत्पन्न विवशता र भयबाट सुरु हुन्छ । सत्ताको बन्दुकसामु नलत्रिने लेखक आफूमाथि आश्रित प्रियजनहरूका अपेक्षा र आँसुसामु लत्रिन बेर लाग्दैन । र, यहीँबाट सुरु हुन्छ घातक आत्मसेन्सरसिप । जो स्वयंप्रति निर्मम हुँदैन, ऊ आत्मसेन्सरसिपबाट जोगिन सक्दैन । म आफूलाई साहसी हैन, आवेगी ठान्छु ।
उत्ताल आवेगद्वारा उद्वेलित हुँदै शोषण र दोहनकारी शक्तिकेन्द्रका ख्वामितहरूमाथि म कटाक्ष गरेर लेख्छु, लेखिसकेपछि डर लाग्छ । छोराछोरी साना छँदा मलाई सधैँ नै कदाचित् म मारिएँ भने मेरा दुई छोराछोरीको नियति के होला भन्ने चिन्ताले सधैँ पिरोलिरहन्थ्यो । तैपनि, आवेगको उत्ताल वेगले प्रेरित भई सजिला र अप्ठ्यारा दुवै परिस्थितिमा मैले सत्ताको आलोचना गरिरहेँ । यो मेरो कुनै पराक्रम होइन । यो त केवल मेरो न्यूनतम सामाजिक दायित्वको निर्वहन हो ।
म कहिल्यै कम्निस्ट भइनँ । युवावयमा म दुई रुसी संग्रामी लेखक म्याक्सिम गोर्की र निकोलाई ओस्त्रोवस्कीबाट खुबै प्रभावित भएँ । गोर्कीको ‘आमा’ र ओस्त्रोवस्कीको ‘अग्निदीक्षा’ उपन्यासमा पाबेल नामक एक–एकवटा नायक छन् । तन्नेरी जोसका वेला ती मेरा आदर्श प्रतिमान थिए । तीजस्तै बन्ने मेरो उत्कट रहर थियो । तिनको सत्यनिष्ठा, तिनको त्याग, तिनको समर्पण भाव, तिनको शौर्य, तिनको धैर्य र पल प्रतिपल कालसँग आँखा जुधाउन सक्ने तिनको जस्तो मनग्गे हुती ममा थिएन ।
त्यसैले म कम्निस्ट बन्न सकिनँ । तैपनि, कम्निस्ट आदर्श र कम्निस्टलाई मैले जानी–नजानी, सकी–नसकी सधैँ साथ दिइरहेँ । तर, मैले पोलिटब्युरोको आदेशको न त अपेक्षा गरेँ, न त त्यसलाई कहिल्यै स्वीकार नै गरेँ । बरु मैले त कताकता राजतन्त्रकै हुकुमशाही प्रेतजस्तो लाग्ने पोलिटब्युरोको सधैँ अवज्ञा गरिरहेँ । र, म सधैँ वामपन्थी भइरहेँ ।
बाँकी रह्यो, अब तँ वामपन्थी भएर वामपन्थी सत्ताधारीसँग आँखा किन जुधाउँछस्, तँ सगोत्रीलाई किन यति साह्रो भन्छस् भन्ने प्रश्न । किनभने, मेरो घोषित सत्यनिष्ठाको पक्षमा यसो गर्न मेरो सामाजिक कर्तव्य हो । हिजो क्रान्तिको उमंगमय उथलपुथल र आवेगको उत्ताल वेग थियो । आज त्यो सब प्रतिक्रान्तिमा बदलिइरहेको छ । हिजो वाम राजनीति अग्रगमनको पथमा थियो, आज पश्चगमन सुरु भएको छ । विडम्बनावश, जसले हिजो क्रान्तिको झन्डा उठाएको थियो, त्यसैले आज प्रतिक्रान्तिको झन्डा बोकेको छ ।
हेर्दाहेर्दै आँखैअगाडि अकल्पनीय, नाटकीय र विस्मयकारी ढंगले क्रान्तिको नायक प्रतिक्रान्तिको नाइकेमा पतीत भएको छ । सबै आन्दोलन दबिएका छन् । अझ भनूँ, प्रतिक्रान्तिद्वारा ती बलात् दबाइएका छन् । अहिले थारू, मधेसी, मुस्लिम, महिला, जनजाति, दलित सबैका आन्दोलन दबिएका छन् । इतिहासको यस्तो सन्नाटामय संकटकालमा जिम्मेवार सञ्चारकर्मी, बागी लेखक, सर्जक र विचारकहरूको धेरै ठूलो भूमिका हुन्छ । कटु सत्य जे हो, त्यो त भनिनै पर्छ । कथित वाम गठबन्धनको, अहंकारमय दुईतिहाइको यो हैकम तीव्र गतिमा निरंकुश भइरहेको छ ।
असहिष्णु भइरहेको छ । अन्तरिम संविधानमा कबोल गरिएका बहिष्कृत र सीमान्तकृत जनका अधिकारहरू पश्चगमनका कर्ताहरूद्वारा सीमित र विकृत तुल्याइएका छन् । कति अधिकार त डल्लै खोसिएका छन् । भुइँचालोको भयको उपयोग गर्दै फास्टट्र्याकबाट बनाइएको संकीर्ण संविधानलाई दमनको औजार बनाइँदै छ । संघीयताको घोर उपहास भएको छ । समावेशिताको तेजोबध गरिएको छ । आखिर कसबाट ? शासनको आसनमा विराजमान यिनै खलनायकी प्रवृत्तिका ख्वामित्हरूबाट । यस्तो अवस्थामा तथाकथित कम्निस्ट र सगोत्रीको कठोर आलोचना नगरे म के तिनको स्वस्ति र भक्ति गरूँ?
सत्ताधारी खड्गप्रसाद ओली र पुष्पकमल दाहालहरू अब समाजवादतिर गइन्छ भन्दै छन् । तिनको यो उद्घोष सुन्दा लुब्ध बनियाँले बडो कृपापूर्वक लोककल्याणको घोषणा गरेजस्तो लाग्छ । कथित वाम–कम्निस्ट सरकारका शिखर पुरुषहरूको वर्गस्थिति, तिनको जीविका र आर्जनका स्रोतहरू, तिनको जीवनशैली र तिनका सामाजिक सम्बन्धहरू खग्रास पञ्च–मण्डलेहरूका भन्दा किमार्थ फरक छैनन् । यसको अर्थ हो, अब पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाहरूले पनि हामीलाई समाजवादतर्फ लगिदिन बेर छैन ।
पिके र केपी फगत ओठे कम्निस्ट हुन्, कगजी कम्निस्ट हुन्, प्राविधिक कम्निस्ट हुन् । यिनको समाजवादतर्फ जाने उद्घोष लोकलाई लोभ्याउँदै राजनीतिक धन्दा चलाउने छलकारी स्वैरकल्पना हो । हामीले यिनलाई सविनय निवेदन गर्नु राम्रो हुन्छ— सदाझैँ गर्छु भनेर नगर्न समाजवादतर्पm जाने ढोँगी कुरा नगर । कृपा गरी हामीमाथि समाजवादको मायावी लेप लगाइएको अधिनायकवाद लाद्ने आकांक्षा नराख ।
सत्ताको चरित्र निरंकुश हुँदै जाँदा मिडिया यो सत्ताको भक्तिमार्गी भरियाजस्तो हुँदै छ । मैले पञ्चायतमा पढेँ र पढाएँ । पञ्चायतमा गोरखापत्र एउटा थियो, अहिले छद्म भेषमा थुप्रै गोरखापत्र छन् । पहिले एउटै गोरखापत्रले लोकलाई हैरान बनाएको थियो, अहिले यतिका गोरखापत्र लोकले कसरी झेल्ने हो ? मूलधारे मिडियाका कर्पोरेट मालिकहरू नेपथ्यमा छन्, शासक दलका दादाहरू मिडियाका अघिल्तिर छन् ।
यी कर्पोरेट मालिक र दलका दादाहरूका स्वार्थका आन्द्रा गाँसिएका छन् । यिनको इच्छा र आदेशसामु ठूलो मिडिया नतमस्तक छ । सम्पादक जो छ, त्यो साँचो अर्थमा सम्पादक नै हैन, मालिकको कारिन्दा हो । सम्पादकीय स्वतन्त्रता, स्वायत्तता र दायित्वको चेतरहित कारिन्दा । त्यसले सत्ताको प्रतिवाद गर्दैन । त्यसले दलका पवनपुत्रहरूले झैँ हावादारी समृद्धि र समाजवादको भजन गाउँछ । रेल, तेल र पानी जहाजको रट लगाउँछ ।
जब मिडिया गोरखापत्रमा पतीत हुन्छ, शासकहरूको दम्भ चुलिन्छ । र, जनअधिकरहरूको अपहरण र दमन सुरु हुन्छ । अहिले त्यही भइरहेछ । यो त प्रारम्भ मात्र हो । हामीले धेरैे कुरा देख्न बाँकी छ । समृद्धि र समाजवाद तथा रेल र पानीजहाजले साकार रूप लिने कुराप्रति आशंका गर्नेलाई देशद्रोही घोषणा गर्ने दिन आउन सक्छ । यस्तो स्थितिमा बोल्नेका मुख र लेख्नेका कलम लोभ र भयले जाम हुन सक्छन् । प्रतिपक्षी र बागी चेतको सजगता र क्रियाशीलताको साँच्ची नैै खाँचो पर्ने आखिर यस्तै संकटको वेलामा त हो ।
प्रश्न छ, के लेखक जनसमूह भनिने भिडको एक अभिन्न अंग हो ? हो पनि र होइन पनि । लेखक समाजको यथार्थबोध गर्न, जनजनका सपनाको नाडी छाम्न र समयको गति र दिशा नियाल्न सडकमा जान्छ । ऊ भिडको बीचमा उभिएर सत्तासँग बागी संवाद गर्छ । लेखकका लागि यो लेखनको ऊर्जा संकलन र सञ्चय गर्ने स्थलगत एवं जीवन्त प्रक्रिया हो ।
तर, लेख्ने वेलामा लेखक भिडबाट अलग्गिन्छ । ऊ एकान्तमा चिन्तन र सिर्जनमा लीन हुन्छ । ऊ भिडबाट निर्देशित हुँदैन । उन्नत विचारको आलोक र जनताको जाग्रत अंशको सजगताबाट निर्देशित हुन्छ । ऊ आफ्नाे आलोेचनात्मक विवेकबाट निर्देशित हुन्छ । जो भिडबाट वशीभूत हुन्छ, ऊ सिर्जनशील लेखक हुँदैन । ऊ रुढिग्रस्त लेखन्दास हुन्छ ।
के अनेक बलिदानी आन्दोलनहरू व्यर्थ भएका हुन् ? के सधैँ केवल सत्ताको आवरण फेरिएको र सार यथावत् रहेको हो ? शासनको आसनमा पात्र फेरिएको, प्रवृत्ति पुरानै निरन्तर रहेको हो ? यी प्रश्नको सोझो र छोटो उत्तर सम्भव छैन । मेरो एउटै ज्यानले ६ थान राजा फटायो । यस अर्थमा म धेरै लामो जीवन बाँचेँ । राणा शासनमा जन्मेँ, जन्मेको तीन वर्षपछि त्यो शासन ढल्यो । म त्यसको बाल दर्शक थिएँ । त्रिभुवनको अवसानको म अबोध साक्षी बनेँ । महेन्द्र ढले र उनको पछि लागेर उनको निरंकुश पञ्चायत ढल्यो ।
म यस प्रक्रियाको एक बागी कर्ता र सजग साक्षी बनेँ । त्यसो त म वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रको अवसानको एउटा विद्रोही कर्ता र साक्षी पनि बनेँ । यसरी मेरै जीवनमा ६ थान राजा फाटेर गए । अनेक व्यवस्था फेरिए । तर, कुनै परिवर्तनले पनि उत्पीडनकारी संरचना, कार्यविधि र संस्कृति फेर्ने चेष्टा गरेन । असमान र विभेदकारी शक्ति–सम्बन्धलाई परिवर्तन गर्ने चेष्टा गरेन । परिवर्तनको चक्र एक प्रकारले सिसिफसको निरन्तर दोहोरिने कष्टप्रद किस्साजस्तो भयो । परिवर्तन प्रायः राजा गयो, राजा रह्यो भनेजस्तो भयो । हुँदाहुँदा खड्गप्रसाद ओलीमा आइपुग्दा त सत्तामा टोपीधारी राजाकै उदय भएको ननिको आभास भइरहेछ ।
के सत्ता, संस्कृति र सम्बन्धमा सारभूत परिवर्तन गर्न नयाँ आन्दोलन र नयाँ नायकको उदय हुनेवाला छ ? समाजमा विभेद, वहिष्करण र वञ्चनाको स्थिति रहेसम्म त्यस्तो सम्भावना सधैँ रहन्छ । तर, निकट भविष्यमै परिवर्तनको ठूलो आँधीबेरीको सम्भावना म देख्दिनँ । ठूलो आँधीबेरी, बलिदान र रक्तपातपछि नेपाली समाज थकित अवस्थामा छ ।
आन्दोलनका सहस्र घाउहरू उपचार नगरी त्यत्तिकै छाडिँदा समाजमा आन्दोलनप्रति नै वितृष्णा व्याप्त छ । त्यसैले मेरो विचारमा यो सामाजिक न्यायको बिउ जोगाउने याम हो । कालक्रममा सारभूत परिवर्तन ल्याउने आन्दोलन र त्यो आन्दोलनको नायकको उदय त हुने नै छ ।
संकटकालमा बागी एवं हस्तक्षेपकारी लेखकको संकट ? यो बडो चाखलाग्दो विषय हो । संकटकालमा बागी लेखक उल्टै संकटका स्रष्टा तानाशाहहरूका लागि संकट हो, खतरा हो । मलाई प्रायः सोधिन्छ— संकटकालमा संकटका स्रष्टाहरूका नाम किटेरै प्रहार वा कटाक्ष गर्दा तँ कसरी ज्युँदो रहिस् ? खै, मलाई यकिन थाहा छैन । यसबारे म यति मात्र भन्न सक्छु, ‘सायद म आफ्ना शक्तिहरूको योग र संयोगले ज्युँदो रहेँ ।’
मेरो सत्यनिष्ठा र मेरो शब्द–सामथ्र्य नै मेरो आफ्नै शक्ति हो । तर, मेरो माउ शक्तिचाहिँ भर्खरै नारायणजीले भन्नुभएझैँ देखिने र नदेखिने, चिनिने र नचिनिने सहयात्री तथा शुभचिन्तकहरूको साथ र शुभेच्छा हो । एक्लै त म केही नै होइन । पद, अलंकार र पैसाको शक्तिले युक्त मानिस म होइन । कलम एवं वैचारिक र नैतिक निष्ठा सिवाय शक्तिको स्रोतका रूपमा मसँग छ नै के र ? तरै पनि निरंकुश सत्ताले मलाई नामेट पार्न सकेन । संकटकालमा हुर्मत, सास्ती र यातना त सामान्य कुरा हुन् ।
ओलीराज विमति र आलोचनाप्रति घोर असहिष्णु छ । यो असहिष्णुता क्रमशः अभिव्यक्तिको बन्देजका रूपमा प्रकट हुनेछ । सहजकालमा बागी बन्न सजिलो छ । तर, संकटकालमा बागी बन्नु पलप्रतिपल कालसित आँखा जुधाउँदै हिँड्नु हो । फेरि शासकरूपी कालसँग जुध्ने समय आएको छ । सजग रहौँ ।