काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बनमा परेका छन्।
सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यता तथा नियुक्तिसम्बन्धी विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
उक्त समितिको संयोजकत्व उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीले गर्नेछन्। समितिमा बीमा क्षेत्रका विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री पनि सदस्य रहनेछन्।
ओझालाई गत फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। त्यतिबेला नियुक्ति पत्र हालका अर्थमन्त्री विष्णु पौडेलले प्रदान गरेका थिए। तर अब उनीमाथि सोही सरकारले छानबिन अघि बढाएको छ।
ओझाले अध्यक्ष पदका लागि पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छुट्टै अनुसन्धान गरिरहेको छ।
सरकार आफैले नियुक्त गरेका पदाधिकारीमाथि नै शंका पैदा गर्दै छानबिन समिति गठन गर्नु, र त्यससँगै उनी निलम्बनमा पर्नु, हालको राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्णय प्रक्रियामाथि समेत प्रश्न उठेको छ ।







