नेपालले सिंगापुरलार्इ उसकै घरेलु मैदानमा ४ विकेटले पराजित गर्याे

काठमाडाैं । नेपालले सिंगापुरलार्इ चार विकेटले पराजित गरेकाे छ । सिंगापुरमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटको एसियन छनोटको पहिलो खेलमा नेपालले याे जित निकालेकाे हाे ।

नेपाली यु–१९ टाेलीले सिंगापुरलाई उसकाे घरेलु मैदानमै ४ विकेटले पराजित गरेपछि नेपालका फ्यानहरुमा ठूलाे खुसी छाएको छ । सन् २०१८ मा न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेटको छनौटको पहिलो खेलमा घरेलु टोली सिंगापुरले दिएको ७४ रनको लक्ष्य नेपालले १७ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको हो।

नेपालका लागि प्रनित थापा मगरले सर्वाधिक २३ रनको योगदान दिए। यस्तै, अनिल शाहले १९ रन जोड्दा रोहित कुमार पौडेलले ११ र पवन सराफ ४ रनमा अविजित रहे। सुरुवाती व्याट्सम्यान सन्दिप सुनार १ रन र आरिफ सेख ४ रनमा पेभिलियन फर्केका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरले २९ ओभरमा अलआउट हुँदै ७३ रनको योगफल तयार पारेको थियो। नेपाली बलरसामु निरीह साबित भएको घरेलु टोली सिंगापुरका लागि ब्रिगु लायरले सर्वाधिक ४२ बनाएका थिए। यस्तै, सेन अग्रवालले ११ रन बनाउँदा अन्य व्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन्।

सिंगापुरका कप्तान जनक प्रकाश, आर्यमान सुनिल र रोहन रंंगराजनले खाता नै खोल्न सकेनन्। सिंगापुरलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए भने साहब आलमले ३ तथा किशोर महतोले २ विकेट लिएका थिए।

एसियन छनौटमा शीर्ष चार राष्ट्र नेपाल, सिंगापुर, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। यी चार टोली मध्ये शीर्ष स्थानमा रहन सफल टोली सन् २०१८ मा न्यूजिल्याण्डमा हुने यु–१९ विश्वकप क्रिकेटका लागि छनोट हुनेछ।

Loading...