मलाई तेल घसेर बिहानको पारिलो घाम परेको पिँढीमा सुताउनुभएको थियो रे मेरी आमाले । गाउँमा कति मान्छे आउँथे, कति जान्थे हरेक दिन पत्तै नहुने रे । प्रायः मलाई हेर्न आउने गर्थे भन्नुहुन्थ्यो आमा । त्यसमा पनि हाम्रो घर चोकमै पर्ने, घरछेउमै निम्नमाध्यमिक विद्यालय र केही चिया पसलहरू पनि थिए । स्कुलको छेउमै बरपिपलको चौतारी थियो । जहाँ हरेकक्षण गाउँका भद्रभलाद्मीदेखि, केटाकेटी दिनभरि तास खेल्ने र चाहिँदा नचाहिँदा गफ लडाएर बस्नेहरूको लागि त्यो चौतारी साझा स्थल थियो । बरपिपल सँगै मिलेर बसेका थिए, कहिल्यै झगडा गर्दैनथे । सबैलाई छाहारी दिएका थिए उनीहरूले । कति चराचुरुङ्गीहरूलाई आफ्नै हाँगाबिँगामा घर बनाएर बस्न दिएका थिए ।
म सानो केही महिनाको बच्चा भएकोले मलाई हेर्न आउने निहुँमा महिलाहरू आमासँग दिनभर गफ लडाएर बस्थे रे । गाउँमा एक अर्काको कुरा काटेको मेरी आमाले दिनभर सुन्नुपथ्र्यो रे । प्रायः सबैजसो सभ्य र राम्रो परिवारका मै हुँ भन्ने महिलाहरूले— “बच्चा कति राम्रो छ, यसरी बाहिर नसुताउनुस्, आँखा लाग्लान्, यहाँ त फलानी बोक्सी हो, ढिस्कानीले तन्त्रमन्त्र गर्छे, बच्चा भित्र लुकाउनुहोस् ।” जस्ता कुरा सुनाएर मेरी आमाका कान पकाउँथे रे । तर आमाले एक कानले सुनेर अर्को कानले उडाउनुहुन्थ्यो रे । मेरी आमा धेरै शिक्षित नभए पनि यस्तो रुढिवादी कुरामा कहिल्यै विश्वास गर्नु हुन्नथ्यो ।
यस्ता कुराको लाञ्छना ती निमुखा, गरिब परिवारका नराम्रा देखिने, श्रृङ्गार नगरी हिँड्ने महिलालाई लाग्थ्यो । गाउँमा पुरुषहरूलाई बोक्सी भन्ने प्रायः चलन थिएन । हाम्रो गाउँमा एउटी काली बुढी थिइन् । जसले भएभरका गाउँका नराम्रा कुराको दोष बोक्नुपथ्र्यो । सामाजिक रूपमै उनलाई हरेक पल सरापिन्थ्यो । मानसिक र शारीरिक पीडा दिइन्थ्यो । बच्चा बिरामी भए, भँैसीले दुध नदिए, बुहारीको पेट दुखे, सासुको आची नआए, बाख्री ब्याउन नसके, बाच्छो मरे आदि जेजे हुन्छन् त्यसको दोष जति काली बुढीले व्यहोर्नुपथ्र्यो । राम्रो भएमा उनीहरू आफ्नो भाग्य, राम्रो कर्म र ‘खानदान कसको ?’ जस्ता उच्च शब्दहरू आपैmँले आफैँलाई चढाएर नाक फुलाउँथे । मेरा आमाबा लगायत गाउँमा औँलामा गन्न सकिने मान्छेले मात्र यो बोक्सीप्रथाको विरोध गर्थे । “बच्चा बाहिर नसुताउनु नत्र बोक्सीले बच्चा मारिदेलान्” भन्नेहरूलाई मेरी आमाले अगाडि नै भन्नुहुन्थ्यो— “त्यो त कर्मको फल हो । आपूmले कसैलाई नराम्रो नगरे आपूmलाई पनि राम्रो हुन्छ । यो सबै ऐँचोपैँचो जस्तै हो ।”
‘काली बुढी’ अर्थात् धनेकी आमा । उनको आफ्नै नाम पनि उनलाई थाहा थिएन । नराम्री, काली, जगल्टे, कहिल्यै कपाल नकोर्ने, कैलेकाहीँ मात्र नुहाउने र गरिब भएकीले सबैले बोक्सीको आरोप लगाउँथे, उनलाई । उनको एक मात्र छोरो धने, अठाह्र वर्षे उमेरमा लाहुरे हुन गयो तर आजसम्म फर्केन । धने जन्मेको केही वर्षमै उनको बुढो भिरबाट खसेर मरेको थियो । सम्पत्तिको नाममा एकहल बारी, एउटा झुपडी र गोठबाहेक केही थिएन । कसरी यति लामो एक्लो दुःखी जिन्दगी कति तिरष्कृत हुँदै बाचिन् होली उनी ?
मेरो घरमा बिहानै चिया पाक्थ्यो । उनी चिया खान आउँथिन् । यदि मलाई आमाले बाहिर सुताउनुभएको थियो भने भन्थिन् रे— “ठूली ! म त बोक्सी, तिम्रो पनि बच्चा भित्र लैजाऊ, फेरि बोक्सी लाग्ला ।”
“हैन धनेकी आमा ! केही हुँदैन, म त्यस्तो मान्दिनँ, आऊ बस, लेउ बाबु समात, म चा पकाउँछु ।”
उनले मलाई काखमा लिन्थिन् । आमाले ढुक्कले मलाई उनको जिम्मा दिनुहुन्थ्यो । म यदि बिरामी भएँ भने आमाले झारफुक गर्न त लगाउनुहुन्थ्यो तर बोक्सी लाग्यो भनेर हैन । काली बुढीले बोक्सी लगाइ भनेर हैन । झारफुक गर्ने गाउँको चलन भए तापनि तातो पानी खुवाउनु र खरानी दलेर अलिकति चटाउँदा स्वास्थ्यलाई राम्रै हुन्छ भनेर । तर आमाबाले हेल्थपोष्ट लान भने कहिले छोड्नु भएन । म धेरै बिरामी हुन्थेँ रे । रातभर बाआमाले नसुती नसुती काखमा लिनुभएको थियो रे । वहाँहरूलाई म बिरामी हुनाको कारण थाहा थियो । गाउँमा धेरै बच्चालाई हेल्थपोष्ट दौडाएर बचाइदिनुभएको छ मेरो बाले । नत्र बोक्सी भनेर झाँक्री राख्दाराख्दै बच्चा मरिसक्थे, कति त मरे पनि ।
धनेकी आमा हाम्रो घरमा आइरहन्थिन् । आमालाई काममा सघाउँथिन् । पछि मेरो भाइ र बैनी जन्मेपछि पनि उनले आमालाई सघाइन् । आमाले उनलाई खानेकुरा, लगाउने कपडाजस्ता आवश्यक कुराहरूमा सहयोग गर्नुहुन्थ्यो । उनी आउँदा म पनि खुशी हुन्थेँ । हामी उनलाई ‘बोई’ भनेर सम्बोधन गथ्र्यौं । कति खुशी हुन्थिन् उनी । हामीलाई आसिक दिन्थिन् तर हामीलाई बोक्सी कैल्यै लगाइनन् । मेरी बैनी अलि डराउँथी उनीसँग । तर भाइले र मैले डो¥याएर ल्याएपछि भने मान्थी ।
धनेकी आमाको मुख कालो चाउरी परेको थियो । चाउरी पनि यति धेरै थियो कि मुखभरी छाला रेसारेसा परेको मात्र देखिन्थ्यो । चाउरी नपरेको कुनै ठाउँ थिएन । मेरी बैनीले उनको मुखमा हेरिरहन्थी । एउटी सानी बच्ची, उनलाई देखेर केके सोधिरहन्थी । उनलाई बिस्तारै नजिकै गएर प्रश्न गर्थी— “दुख्यो ?” उनका गालामा दुवै हातले सेक्थी । औषधि हुन्छ जस्तै गरेर बिस्तारै फुक्थी । धनेकी आमाले मेरी बैनीलाई अँगालोमा च्याप्थिन् । उनका आँखाका आँसु वर्षौँसम्म बग्दाबग्दै थाकेर सुकिसकेका थिए । निरुत्तर यताउता घुमिरहने उनका आँखाका नानीहरू त्यसै कताकता कसैलाई खोजेजस्ता देखिन्थे । अनुहारमा कतै पनि हाँसोको कुनै लक्षण देखिँदैनथ्यो । संसारबाट तिरष्किृत एउटा दुःखी मूर्तिजस्तै थिइन्, उनी । जिङ्ग्रिङ्ग परेको कपाल बाँसका जराजस्तै देखन्थे । मेरी आमाले प्रायः उनलाई केही न केही खान दिनुहुन्थ्यो । हामी वरिपरि बसेर उनले खाएको हेथ्र्यौं ।
धनेकी आमा प्रायः कसैसँग पनि धेरै बोल्दिनथिन् । धेरै मान्छेहरू उनीसँग ‘बोक्सीबुढी’ भनेर बोल्दैनथे । उनी पनि मानव नै हुन् । उनका पनि मान्छेका जस्तै सपना होलान् । कस्ता होलान् उनका सपना ?
वर्षौँ अगाडि मरेका आफ्ना लोग्नेलाई देख्छिन् होला र भन्छिन् होला— “फर्केर आउन धनेका बा ! म त एक्लै भएँ । तिम्रो छोरो धने पनि लाहुरमै हरायो, धनेका बा ! कि त मलाई पनि माथि नै बोलाऊ । म थाकेँ, मलाई पनि लैजाऊ न !” फेरि केही सम्झेजस्तो गरेर भन्छिन् होला— “तर म त धनेलाई पर्खिरहेकी छु, धनेका बा ! यदि धने फिर्ता आयो भने कसलाई आमा भन्ला ? तिमी पनि त छैनौ ! उसलाई यो घरमा बुहारी कसले भित्र्याइदेला ? हाम्रा गोठमा दाम्ला छन् तर गाईभैँसी छैनन् । वर्षौँवर्षदेखि दाम्लाहरूले धनेलाई कुरिरहेका छन् । कैले धने आउला अनि गाईभैँसी किनेर ल्याउला ! फेरि हाम्रो गोठ, गोठजस्तो होला । धनेले बुहारी ल्याउला, नातिनतिना होलान् । म नभए कसलाई ‘बोई’ भन्लान् ! अनि हाम्रो घर पनि घरजस्तो होला । मलाई गाउँमा ‘काली बोक्सी बुढी’ हैन ‘धनेकी आमा’ भन्लान् ।
मलाई ‘काली बोक्सी’ भनेर आरोप लाउँछन्, धनेका बा ! तिमीले मलाई छोडेर गएको केही वर्षमै धने पनि पर्देश गयो । म एक्लै भएँ, नराम्री भएँ । श्रृङ्गार गरौँ पनि कसका लागि गरौँ ? मुर्झाएको पूmलजस्तै छु । म त बूढी भैसकेँ, झरेको पातजस्तै भएँ । मेरो धर्तीमा केही काम छैन, धनेका बा ! मलाई तिमीसँगै सधैँका लागि आउने रहर छ । मेरा यी बूढा आँखाहरू धनेलाई पर्खिरहेका छन् ।” भन्दै सपनामै रुन्छिन् होला । गाउँमा त उनका आँसु देख्ने को नै छन् र ? सबैले उनलाई आँसु मात्र दिन्छन् । उनलाई आफ्नो हराएको छोरो धनेलाई पर्खेर बाँच्ने अधिकार पनि छैन । सायद, उनको भागको धर्ती नै छैन । यत्रो ठूलो धर्तीमा धर्तीमाताले उनलाई उनको भागको टेक्ने धर्ती पनि दिइनन् ।
गरीबले सपना पनि के नै देख्छन् र ? टन्न खाना खाएको देख्लान्, राम्रा कपडा लगाएको देख्लान्, एकैछिन् भए पनि सपनामा हाँसेको देख्लान् । तर ब्यूँझेपछि फेरि त्यही गह्रौँ संसार उनीहरूको काँधमा पर्नेछ । तर उनको भने सपना बेग्लै थियो ।
मेरी आमा सधैँ चिन्ता गर्नुहुन्थ्यो— “कसरी बाँच्लिन् यी बूढी ? कुन दिन बोक्सीको आरोपमा कुटेर मार्ने हुन्, यी रुढीवादी परम्पराबाट ग्रसित गाउँलेहरूले । नपढेकाले त भने भने तर यी शिक्षित भनाउँदाहरू पनि उस्तै ?”
आमाको पुट्पुट् र भुट्भुट् सधैँ थियो धनेकी आमाप्रति । उनका भन्ने कोही थिएनन्, यो दुनियाँमा । आपैmँले पकाएर खान पनि नसक्ने भएकी थिइन् उनी । मागेर दिने पनि थोरै मात्र घर थिए । उनको खरले छाएको पुरानो झुपडी पनि भत्किने अवस्थामा थियो । उनको गोठले त केही वर्ष पैला नै घुँडा टेकिसकेको थियो । अब सुत्ने ठाउँ मात्र बाँकी थियो । घर वरिपरि सानातिना रुख बिरुवाहरूको झाडी नै भइसकेको थियो । उनको घरबाट निस्केर गाउँतिर आउने घरपछाडिको बाटोमा पनि झार उम्रेर बाटोको निशानी मेटाउँदै थियो । उनको घरमा जाने र आउने मान्छे प्रायः कोही थिएनन् । उनी मात्रै एक्लै हिँडेर कति नै झार मार्थिन् र ? उनको घरमाथिको कान्लाबाट स्कुले केटाकेटीले आउँदाजाँदा ‘काली बोक्सी’ भनेर उनको घरको छानामा ढुङ्गा नहानेको दिन हुँदैनथ्यो । एकदिनको कुरा हो, धनेकी आमा बिहान झिसमिसेमा पाखोमा दिसा बसेकी थिइन् । पँधेर्नीले देखेछन् र “बोक्सीले छौँडा खेलाउँदै छे” भनेर ढुङ्गा हानेछन् । ढुङ्गाले उनको टाउकै फुटेछ । मेरा बाआमाले हेल्थपोष्ट लगेर मलमपट्टि लगाएर बचाउनुभयो । उनी आजकल रुँदिनन् । मनमनै बोलेकोजस्तो देखिन्छ उनका आँखामा । छोरो धनेको नाम लिन्छिन् घरिघरि । आँखाका आँसु भने सुकिसकेका छन् ।
हामीलाई पनि गाउँलेले त्यति राम्रो नजरले हेर्दैनन् आजकल । हामीले ‘बोक्सी भन्ने कुरा भ्रम हो र धनेकी आमा असाहय, एक्ली बूढी हुन् तर बोक्सी हैनन्’ भनेको गाउँलेलाई मन परेको थिएन । एउटी बोक्सीलाई आश्रय दिएको कारणले हाम्रो विरुद्धमा लागेका थिए गाउँलेहरू । मेरी आमा डराउनु हुन्नथ्यो । अब त म र मेरो भाइ पनि ठूला भैसकेका थियौँ । बैनी पनि स्कुल जान थालेकी थिई । बाआमालाई केही आधार लाग्दो हो, हामी हुर्केकोमा । बा बढी पेशामै व्यस्त हुने हुँदा सारा कुरा देख्नु, सुन्नु र बेहोर्नु आमाले नै पथ्र्यो ।
वर्षाको बेला थियो, रातभरको पानी र हावाले धनेकी आमाको झुपडीको छानो खसेछ । रातभर पानीको आहालमा सुतिछन् । बिहान बाले देख्नुभएछ, घरमा लिएर आउनुभयो । गाउँमा कसैले वास्ता गरेनन् । केही दिन हाम्रै गोठमाथि मतानमा सुतिन् । केही दिनपछि स्कुलका केही मास्टर र बाआमाले पैसा उठाएर खरको छानो हालिदिए । तर उनको गोठ भने बस्यो, फेरि नउठ्ने गरी । उनका गाईबस्तु बाँध्ने ती दाम्ला पुरिए । बूढीले धेरै दुखेसो गरिन् मेरी आमासँग । हामीले के नै गर्न सक्थ्यौँ र ! सानो पूँजीका मान्छेले । मन मात्र भएर नहुने ! उनका ती सपनाका गाईभँैसी पनि त्यसै गोठसँग पुरिएर मरे ।
गाउँमा परघरे बूढा बिरामी थिए, लामो समयसम्म । उनका छोराले झारफुक गर्न माथि लेकको जङ्गलमा बस्ने लामा ल्याएछन् । घरभरि भीड थियो । हामी पनि रमिता हेर्न गएका थियौँ । लामा ढ्याङ्ग्रो ठोक्दै आगोको लप्का मुखमा हालेर निल्दै निकै बेर उफ्रिए ।
केहीछिनमा सिथिल भए र आँखा चिम्म गरेर बक्न थाले । त्यति बेला उनी लामा बनेर हैन— भगवान् ! जसले त्रिलोक चौंधै भुवनमा के भैराखेको छ ? जस्तो जान्ने भएका थिए । लामाले झाँक्रीजस्तै हल्लेर भने— “हेर, हेर, मनुवा ! यी.. बूढालाई… काली… बोक्सी… लागेकी… छ । यसै… गाउँकी… ठूलो… रुखको… छेउमा… घर.. भएकी.. काली… बोक्सीले नै… यी बूढा मान्छेलाई खान आँटेकी छ । हुहुहुहु हेर मनुवा !”
बाहिरबाट परघरे बूढी चिच्याइन्— “हो, हो, त्यही काली बूढीले मार्न आँटेकी छ मेरा बूढालाई । मरिजाओस्, त्यो काली बोक्सी ।”
सबैले जिब्रो एक बित्ता बाहिर निकाले । काली बूढीलाई सराप्नु सरापे । भीडबाट परघरे बूढाका छोरा चिच्याए— “अब बालाई बचाउन के गर्नु पर्ला त भगवान् ?” भन्दै लामाको खुट्टामा घोप्टिए । लामा अभैm हल्लिएकै छन्, फेरि बिस्तारै बक्न थाले— “एउटा… कालो… बोको… मध्यरातमा… काटेर… बली… चढाउने, दोबाटोमा… एक टुक्रा… सुनसहित… फुलपाती… चढाएर… तामाको भाँडामा… दियोसमेत… बालेर छाडी… दिने… । घरभरि… गाईको गउँत… छर्ने र… बिरामीलाई… सुनपानी… छर्केर… त्यही गाईको… गउँत… खान दिने, भोलि… दिनभरमा… यो… गाउँमा… भएका सारा… बर…पिपल वरिपरि… सेतो… रातो ध्वजा.. बाँधी… दिने…हु हु हु हु । हेर, हेर, मनुवा ! यति… गरिस्… भने.. तेरो बा… बाँच्न सक्छ । हु हु हु हु” भन्दै मन्त्रलाई तीनपटक दोहो¥याएर लामाको टनटन र फनफन बन्द भयो ।
राती कालो बोका काटियो, घरभरि आगो पुत्याइयो, घरभरि धुवाँ भरियो । परघरे बूढाले रातभर खोके । पेट दुख्ने गरी मजाले खोके । बूढाले खोक्दा सबले भने— “ऊः ऊः बोक्सीले बूढाको शरीर छोड्न लागेर बूढाले खोके ।” बिस्तरामा लम्पसार परघरे बूढाले एकोहोरो खोकी नै रहे । रातभर लामा र उनका सहयोगीले त्यही कालो बोकाको मासु र रक्सी टन्न खाए । बिहानपख बूढाको खोकी बन्द भयो । छोरा र बूढी बिहान बूढा सुतेको ठाउँमा हेर्न गए । बूढाको खोकीसँगै सास पनि बन्द भइसकेको रहेछ । दमको बिमारी, बूढा रातभरको धुवाँले सास फेर्न पर्याप्त अक्सिजन नहुँदा मरेछन् । घरपरिवार रुँदै काली बोक्सीलाई सरापे । परघरे बूढा परधाम पधारे । लामा दोबाटोमा चढाएको सामान र प्रशस्त पैसा बटुलेर लेकतिर लागे ।
बोक्सीका यस्ता घटना यो गाउँमा प्रशस्त भए । उपचार पनि प्रशस्त भए । तर एकदुई संयोगबाहेक लामा झाँक्रीले कसैलाई बचाउन सकेनन् । मेरा बाले कतिपटक जिल्ला प्रशासनलाई पनि यस्ता घटनाको उजुर गर्नुभयो तर कसैले टेरपुच्छर लगाएनन् । बाआमाले बोक्सी आरोप लगाउने प्रथाविरुद्ध प्रचारप्रसार पनि गर्नुभयो तर पुर्खौँदेखि मान्छेको मष्तिस्कमा नराम्रोसँग परेको छाप यति सानो पहलले पखाल्न सकेन । कति भविष्यका कर्णधार केटाकेटी उपचार नपाएर मरे । कति अधबैंशे, बुढापाका गलत उपचारको शिकार बनेर मरे । कति सुत्केरी महिलाहरू, कति गर्भवतीहरू हेल्थपोष्ट नदेखेरै घरमै मरे । मान्छे त मरे मरे, घरपालुवा जनावरहरू पनि सही उपचार नपाएर मरे ।
पाडाबाच्छालाई गोटा पर्दा, भैँसीले मुत्न नसक्दा, गाई सुनिएर लड्दा, बाख्राले पाठो फाल्न नसक्दा मान्छेले बोक्सीलाई आरोप लगाएर झारफुक गरे । यसरी घरपालुवाहरू बिना उपचार मरेका म¥यै छन् । कसैले सम्झाएर यो गलत प्रथाको अन्त्य भएन । धनेकी आमा यसै प्रथाको शिकार भइरहिन् ।
आज बिहानैदेखि गाउँका एकजना ठूलाबडा महाजन्को घरमा हल्ला थियो । धेरै मान्छे जम्मा भएका थिए । ठूलो भेलाजस्तै थियो । आमा, म, भाइ र बैनी पनि के भएछ ? भन्दै दौडियौँ । महाजन्को गोठमा लैनो भैँसी उत्तानो परेर लडेको थियो । महाजन्नी बजै फलाक्दै काली बूढीलाई सराप्दै रोएकी थिइन् । हामीले बुझिहाल्यौँ । आमाले मतिर हेरेर बिस्तारै भन्नुभयो— “आज यिनीहरूले धनेकी आमालाई मार्छन् । गाउँमा यिनको कुरा कसैले टार्न सक्दैनन् ।” आमा धनेकी आमाको घरतर्पm दौडिनुभयो । हामी पनि पछिपछि दौड्यौँ ।
बाटोमा महाजन्का छोराहरूले— “काली बोक्सी ! तैँले हाम्रो लैनो भैँसी खाइस् !” भन्दै लतार्दै धनेकी आमालाई आफ्नो घरतर्पm ल्याउँदै थिए । आमाले उनीहरू माझ हात जोड्नुभयो, बिलौना गर्नुभयो ।
“बाबु हो ! यो बूढीले केही गरेकी हैन, तपाईंहरूको भैँसीलाई । यो बूढी बिरामी छे, मर्छे यस्तो नगर्नुहोस् । कृपया ! क्षमा गर्नुहोस्, मानवताको नाताले पनि । तपाईंको भैँसी त अब बाँच्दैन, किन पिट्नुहुन्छ यो एक्ली बूढीलाई ?”
आमाको कुरा सुनेनन् उनीहरूले । उनीहरू बलिया थिए । गाउँमा उनीहरूकै बोलवाला थियो । गाउँमा कोही पनि उनीहरूको अगाडि एक शब्द बोल्न सक्दैनथे । आमालाई धकलेर लडाए, बूढीलाई लतार्दै गोठमा पु¥याए ।
चारैतिर रमितेहरूको घेरा थियो । लगभग साठी वर्षे धनेकी आमालाई मरेको भैँसी बाँधेको खामोमा बाँधियो । सारा भीड उनको विरुद्ध करायो । ब्वाँसोहरूको अगाडि फालिएको बाख्राजस्तै भइन्, धनेकी आमा । सबैले लुछे । भीडबाट मिश्रित आवाज आइरहेको थियो— “मार, यो बोक्सीलाई लैनो भैँसी खाई ।” कसैले भने “यही भैँसीको मासु खा एऽ बोक्सी !” केही महिलाहरूले आक्रोशित भएर जगल्ट्याएर बूढीलाई पिट्नु पिटे । महाजन्नीले निर्णय सुनाइन्— “हेर गाउँले हो ! यो बोक्सीले मेरो मात्रै हैन, तपार्इंहरूको पनि धेरै नोक्सान पारेकी छे । त्यसैले आज यसलाई मान्छेको गुहु ख्वाउनुपर्छ । यो बोक्सीलाई जिउँदो छोड्नु हुँदैन ।”
महाजन्को कान्छो छोराले पातमा गुहु लिएर आयो । महाजन्नीले छेस्कोमा चोबेर धनेकी आमालाई गुहु खुवाइन् । सारा गाउँलेले ताली बजाए । धनेकी आमाले बिलौना गरिन्— “हजुर म बोक्सी हैन…, मलाई यसरी पीडा नदिनुस् हजुर ! बरु एकैपटक मारिदिनुस् ।” तर उनको बिलौना कसैले सुनेनन् । यति बिलौना गरेको भए सायद ब्वाँसोले पनि आफ्नो शिकारलाई माफ गथ्र्यो होला । मान्छेमा मान्छेका लागि एकरत्ति पनि दया पलाएन । धिक्कार ! यी मान्छेहरूलाई । धिक्कार ! ती भगवान्लाई । जसले यिनीहरूलाई मान्छेको चोला दियो । महाजन्का छोराले सबै गाउलेहरूलाई आदेश दिए— “यसलाई कसैले पनि बचाउने कोसिस नगरेस् । कोसिस मात्र गरे, ऊ पनि हाम्रो हातबाट बच्नेछैन ।”
धनेकी आमा रगताम्मे भइन् । मर्न मात्र बाँकी भएपछि पर जङ्गलको खोल्सामा लगेर फालिदिए । मेरी आमा धेरै रुनुभयो । आमासँगै हामी पनि रोयौँ । मध्यरातमा बाआमा र केही गाउँले मिलेर धनेकी आमालाई खोज्न गए । त्यहाँ रगतको आहाल थियो तर धनेकी आमा जिउँदी थिइनन् ।
उनीसँगै उनका सपनाहरू पनि मरे । उनको गोठ फेरि कहिल्यै बनेन । उनको छोरो धने कहिल्यै फर्केन । उनी सदाका लागि आफ्नो बूढोसँग गइन्— मृत्युलोकमा । आजकल गाउँमा फेरि अर्की बोक्सीको खोजी जारी छ ।
– फलेवास पर्वत
हाल: बोस्टन, अमेरिका