आज साउने संक्रान्ति । हलो पखाल्ने, गोरु नुहाईदिने, हिलासँग पौँठाजोरी खेलेर थकित ज्यान सुस्ताउने साउने संक्रान्ति अर्थात कृषि पर्व हो । तर, मलाई सल्केको लुतोको औषधी गर्ने र नयाँ लुतो सल्केला कि भनेर जोगिन हम्मेहम्मे पर्दैछ । लुतो फाल्ने पर्व पुरानै हो । तर, म भने न पुरानै छोड्न सक्ने न त्यसैमा रमाउन सक्ने अर्थात नयाँ भनेको काउसो हो भनेर नयाँ सोच्नै नसक्ने भएको छु । लुते माहात्म्य अपरम्पार छ । लुते देवताको आरधाना गर्ने गाली चाडवाड नै लुतो फाल्ने पर्व हो । अहिले राजनेता, गालीपण्डित र केही मिडियाहरु त सदा लुते पर्व मनाइरहेका छन् ।
समाज विकासक्रममा सबै पर्वका आआफ्नै महत्व, अर्थ, मर्म ऐतिहासिक सन्देश भए झै लुते पर्व पनि गाली पण्डितहरुलाई गाली साधना गरेर नयाँ गालीको आविस्कार गर्दै महाउत्सव बन्छ । हरेक लुतेपर्वमा फलानालाई गरिने गाली नै गालीशास्त्रको पहिलो प्रयोगशाला थियो । तर, फलानु भने को हो ?
आगे लुते पर्व माहत्म्य
लुतो लगाइदिने लुतेदेउता हुन्छन् । उनको श्राप भनेकै अक्करमा लुतो सल्काईदिँदै आफैँले आफ्नो सार्वजनिक वेइज्जत गर्नु महाकर्म बन्छ । अक्करमा लाग्ने र गुप्ताङ्गलाई निशाना बनाउने यो रोगले कुनै समय, थात थलोको हेक्का नराख्ने भएकाले सामाजिक हुर्मत त काढ्छ नै सुके लुतोले भन्दा पाकेलुतोले फत्रक्कै भए गुप्ताङ्ग पनि झर्न पनि सक्छ । सइन हुन सक्छ । सइनलाई अहिले त क्यान्सर भनिन्छ । लुतो लागेपछि कन्याउन कसैले पनि लाज, घीन मान्नै सक्दैन । लुतो र लाजको मितेरी हुन्छ । लाज बचाउन नकन्याउभन्दा पनि लुते देउताले दिनको चैन र रातको निन्द्रा हराईदिन्छन, ‘खुजुलीका कहानी गजव होता है, खुजुली देवका शक्ति भी गजव’ । त्यसैले लुतेहरुको सार्वजनिक थलोमा जाने, भाग लिने औकात हेरिन्छ । लुतो नलागोस् भनेर लुते देवता पुज्न पुर्खादेखिका जाने जतिका गाली बक्दै साउने संक्रान्तिमा लुतो फालिने चलन चलेको हो ।
लुतो फाल्न सातथरीका जडीबुटीका सार्दम जोर्नुपर्छ । त्यसको आयुर्वेद्धिक अर्थ धन्वन्तरी वा चरक महाराजले लेखिदिएनन् । देवीसरो, धुपीसरो, पानीसरो, ककुरडाइनु, कुरिलो, हाडे उनिउँ र सल्लाको दियाले काठको अर्थ के हुने हो कोनि ! त्यसपछि लुते गोठबाट राँको फाल्दै मेरो लुतो लै…जा है फलाना… मेरो लुतो लै…जा भनेर जाने जतिको गाली फलाक्यो । मुखको तितो फाल्दै चिच्यायो र वैरीलाई लुतो सल्काईदियो । फलानो भनेको पुस्तौनी शत्रु, हेपिएका जाति हुने गर्छन् अथवा अर्काको हुर्मत काढेर आफ्नो औकात बढाउन लुतो लगाईदिने र लुतेपर्वमा गाली गर्ने खलपात्र बनाइएका हरेक मनुवाका गाली खाने फलाना भने हुन्छन् ।
लुतोको शक्ति अपरम्पार छ । लुतो सल्केको मान्छे सामने कोही पनि भद्र मान्छे बस्न रुचाउदैनन् । लुतेले गुप्ताङ्ग कन्याउँछ, ऊ त लाज, घिन हराएको बेसर्मी बन्न विवश हुन्छ तर उसको हर्कत देखेर सामुन्ने बस्ने मान्छे स्वयम् लजाउँदै बेसर्मीसँग कुलेलाम ठोक्नुपर्ने हुन्छ । लुतो कन्याइदिएपछि सामनेको मान्छे विना गालीगलौच भागी हाल्छन् । लुतो कन्याई दिएपछि अरुहरु भाग्ने भएकाले आफै भाग्यमानी शक्तिशाली सोच्न थाल्छन् ।
लुतेपर्व लुतेदेउताको महिमागान गाउने गालीपण्डितको आज महानदिन हो । पवित्र दिन हो । शक्ति साधना पर्व । गाली सामथ्र्यले नै यसको ऐतिहासिकता झल्कन्छ । लुतो कन्यायो… कन्यायो आफैलाई रक्तमुच्छेल पा¥यो, चि¥थोयो, को¥पयो, घायल बनायो तर पनि कोपरेर कन्याउन भने छोडेन । आफ्नो शत्रु आफै बन्यो । मर्यादा पालन गर्नै नपर्ने । साउने संक्रान्तिमा कृषिपर्व मान्नुभन्दा पनि लुतो फाल्ने ध्याउन्न ।
रुप र तरिका फेरिए । लुतेपर्वका वैरी पनि निक्लिसके । हामीहरुसँगै सिकेर अग्रेजले गालीमा मनका भडास छताछुल्ल गरेपछि कसैले पनि बौलाउन पर्दैन भनेर हाईडल पार्कलाई गाली गलौज स्वतन्त्रताको पार्क बनाइदियो । अझ जुकुरवर्गीय फेसबुके पार्क सेन्सरहीन गालीथलो बन्दा वर्षदिनको साउने संक्रान्तिको लुतेपर्व नै अब कुरिरहनु परेन न कि गाईजात्रा र अप्रिलफूल नै कुर्न पर्यो प्रविधिसँगै हाम्रो मौलिक लुतेपर्व पनि सांस्कृतिक साम्राज्यवादी कला बन्दै छ रे । संसारको महान गाली पण्डितहरु कोही सिद्धान्तको नाममा, कोही विचारका नाममा औकात अनुसारका गाली सिक्ने पहिलो पाठशाला भने लुतेपर्व नै थियो । अब भने त्यो खाली ठाउँ रहेन ।
शक्तिका उपासकहरुले लुतेदेवताबाट गाली सिके, र शक्तिआर्जनमा अर्काको बेइज्जत गरेर शक्तिहरणका गर्न गालीवाण बर्साउन थाले । यो चलन राजनीतिमा लुतेपर्वसँगै भित्रिएको हो । अझ शक्ति उपासकको आन्तरिक वा बाह्य शक्ति सङ्र्घषको वेला गाली संस्कृति मौलाउँछ र गुप्ताङ्गमा लुतो कन्याएझै लाजशर्म सबै त्याग्न हिच्किदैनन् । लुते देवताबाट गाली सिके, र शक्तिआर्जनमा अर्काको बेइज्जत गरेर शक्तिहरणका लागि गालीवाण बर्साउन थाले । शक्तिदेवले विवेकमा लुतो सल्काईदिएपछि गाली नै शक्तिको श्र्रोत, सिर्जना र पौरख ठानेर कर्म र आदर्श भुल्न पर्ने नै भयो ।
लुते देउता र लुतो फाल्ने चलन विरुद्ध चेत भएका हाम्रा पुर्खाले अगेंरीको पात र छाउँने घाँसको रसले उपचार गर्थे । लुतो फोहरसँग आउने र सरुवा रोग भएकाले लुतो फालेर, गाली बकेर मात्र लुतो ठीक हुँदैन भन्नेहरुको कमी पनि थिएन् । त्यसैले अंगेरीका पात वा छाउने घाँसका रस लगाउँदथे । लुतोमा अंगेरी दल्ने हिम्मत राखे रोग त ठीक हुन्थ्यो नै गुप्ताङ्ग कन्याएर सार्वजनिक थलोमा स्वयको वेईज्जत गर्नु पनि पर्दैनथ्यो । के अहिलेका गालीमा शक्ति देख्ने र गाली विदुषकहरुले दिमागमा सल्केको लुतेचिप्सले विवेकमाथिको रजाईमा धावा बोल्न आधुनिक अंगेरी घस्न सक्लान ! त्यसैमा लुते पर्वले साउने संक्रान्ति बन्न पाउने थियो । सबैलाई हेक्का भया ।