मतपेटिकालार्इ लक्षित गरी बम प्रहार

जाजरकाेट, ११ मंसिर । अाइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट भएको छ।

सोमबार बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो। विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए।

‘कुशे गाउँपालिका–१ को रोलखोला भन्ने ठाउँमा बम विस्फोट भएको हो’, प्रहरी नायब उपरीक्षक रिमालले भने, ‘ एकजना सहयोगी सामान्य घाइतेबाहेक अन्य कुनै क्षति भएको छैन।’ मतपेटिका पनि सुरक्षित रहेको र बेलुकासम्ममा सदरमुकाम पुग्ने उनले जानकारी दिए।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने आशंका गरेको छ। गत शुक्रबार मात्रै सोही वडाका वडाध्यक्ष गोपाल नेपालीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए।

Loading...