काठमाडौँ महानगरको आर्थिक सहयोगमा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ । उक्त नगरपालिकाको वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि.नं. ८२ र १८९ को करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो । अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि मानव सेवा आश्रम संचालन प्रयोजनका लागि सो भवन निर्माण गर्ने सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य, नागार्जुन नगरपालिका तर्फबाट मोहन बहादुर बस्नेत र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभयो । साक्षीहरुमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली, नागार्जुन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापामगर मानव सेवा आश्रमकी महासचिव, सुशिला के.सी. (रुपा) रहनु भएको छ । काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट घरवार विहिन भई खुल्ला आकाशमुनी अत्यन्त कष्टपूर्ण जीवनयापन गर्न विवश व्यक्तिहरुलाई सडकबाट तथा खुल्ला स्थानबाट उद्धार गरी काठमाडौं उपत्यकालाई नै सहयोगापेक्षी सडक मानवरहित शहर बनाउने उद्देश्यले नागार्जुन नगरपालिका र मानव सेवा आश्रमसँग भवन निर्माणका लागि सम्झौता गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।
सम्झौतापछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भन्नुभयो, ‘काठमाडौं जिल्लाभित्र अव्यवस्थित रुपमा खुल्ला आकाशमुनि सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश, शारीरिक तथा मानसिक रुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त तथा सहयोगापेक्षी सडक मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउने र त्यस्ता सहयोगापेक्षी मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनलाई दिगो व्यवस्थापन गर्न सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गरी संचालनमा ल्याउन यो सम्झौता गरेका हौँ ।’
प्रमुख शाक्यले भवन निर्माण गर्न आवश्यक बजेट प्रवन्ध गर्न महानगरपालिका तयार रहेको जानकारी दिनुभयो । सो कार्यक्रमलाई सम्वोधन गर्दै नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले आफ्नै नगरपालिकामा भवन बन्ने कुराले उत्साहित भएको बताउनुभयो । आश्रमका अध्यक्ष अधिकारीले असल मनले थालेको काठमाडौँ महानगरपालिकाले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो । सम्झौतामा भनिएको छ, ‘भवनको मुल प्रयोजन विपन्न, अशक्त, असहाय, सडक सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनमा प्रयोग गर्नुहुनेछ । उक्त उद्देश्य अनुसार तृतीय पक्षबाट भवनको व्यवस्थापन तथा प्रयोग हुन नसकेमा वा भवनको दुरुपयोग भएमा जुनसुकै बेला प्रथम तथा द्वितीय पक्षले संयुक्त निर्णय गरी सम्झौता भंग गर्न तथा भवनको उपयुक्त प्रयोजनमा प्रयोग गर्न सक्नेछ ।’ त्यसैगरी सम्झौतामै निर्माण भएको भवनको नाम सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम रहने उल्लेख छ ।
सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र भविष्यमा समेत मानव सेवा आश्रम संचालन व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन आवश्यक नीति तर्जुमा गर्ने, निर्णय गर्ने तथा कामकारवाहीलाई निर्देशन गर्ने उद्देश्यल एक निर्देशक समिति समेत रहने व्यवस्था सम्झौतामा गएिको छ । समितिमा काठमाडौं महानगरपालिकाका प्रमुख संयोजक रहने व्यवस्था गरिएको छ भने नागार्जुन नगरपालिकाको प्रमुख सदस्य रहने व्यवस्था छ । समितिमा मानव सेवा आश्रमको अध्यक्ष र काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाले तोकेका कार्यालयका विषयसम्वद्ध पदाधिकारी एक–एक जना सदस्य रहने छन् । सम्झौता अनुसारको भवन निर्माण कार्य २०७८ मा प्रारम्भ गरी २०८० मा सम्पन्न गर्नुपर्ने छ ।

Loading...