‘राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि उम्मेदवारी’ उम्मेदवार तिमिल्सिना

संविधान संशोधन गरेर धर्म सापेक्ष, राजासहित प्रजातन्त्रको एजेण्डा

ललितपुर, ६ मंसिर । श्यामप्रसाद तिमिल्सिना यस पटक पनि प्रतिनिधिसभाको लागि ललितपुर क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

ललितपुर जिल्लाको दक्षिण भेगस्थित गोटीखेलमा जन्मिनु भएका तिमिल्सिना २०५९ सालतिर तत्कालीन जिल्ला विकास समिति ललितपुरको उपसभापति हुुनुहुन्थ्यो । केशरबहादुर विष्टपछिको राजवादी नेताका रुपमा तिमिल्सिना परिचित छन् । उहाँ यस पटक प्रकाशचन्द्र लोहनीको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट चुनावी मैदानमा उत्रिएका हुन् ।

२०६४ सालको पहिलो संविधानसभा पशुपतिशम्शेरको राप्रपाबाट ललितपुर क्षेत्र नं १ मा उम्मेदवारी दिनुभएको थियो । पछि राप्रपा नेपालमा प्रवेश गर्नुभएका तिमिल्सिना डा प्रकाशचन्द्र लोहनीसंगै सो पार्टीबाट बाहिरिनुभएको थियो । अहिलेको संविधान संशोधन गरेर धर्म सापेक्ष, राजासहित प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने एजेण्डाका घरदैलो अभियानलाई तीब्रता दिइरहेका छन् । तिमिल्सिना प्रतिनिधिसभातर्फ ललितपुरको क्षेत्र नं ३ ‘क’ र ‘ख’ उम्मेदवार विक्रम बस्नेत र दिपा विष्टसंगै घरदैलो अभियानमा सक्रिय भइरहेको छ ।

‘मेरो उम्मेदवारी अहिले संविधानले प्रवाह गरेको विचार भन्दा पृथक भएपनि यसको बलियो जनमत रहेको छ ।’ उम्मेदवार तिमिल्सिनाले भन्नुभयो ‘हाम्रो मुख्य प्रतिबद्धता भनेको बौद्ध, मुसलमान, किँरात लगायत सबै धर्मको सम्मान गर्दै नेपालको पहिचान सनातन हिन्दु राष्ट्र कायम गर्ने, राष्ट्रप्रमुखको रुपमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको निर्वाचन गर्ने रहेका छन् ।’

उम्मेदवार तिमिल्सिनाले जनताको चाहना विपरीत लहडको भरमा नेपाललाई धर्म््िनरपेक्ष बनाएको बताउँदै हिन्दू राष्ट्र भएमा मात्र विश्वमा नेपालको पहिचान हुने र मुलुकमा धार्मिक पर्यटनको विकास भई आर्थिक संमृद्धि हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

गणतन्त्रको नाउँमा देशमा भ्रष्टाचार मौलाएको बताउँदै उहाँले राष्ट्रवादलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । हिमाल, पहाड र तराई मधेश सबै नेपालीको स्वाभिमान र आत्मसम्मानको रक्षा र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न पार्टीले देशैभरि उम्मेदवारी दिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रत्येक नौ–नौ महिनामा सरकार परिवर्तनले गर्दा मुलुकमा अस्थिरता उत्पन्न हुनाले संविधान संशोधन गरी कार्यकारी निर्वाचित प्रधानमन्त्री र राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि जनताले आफ्नो पार्टीलाई संसदमा प्रतिनिधित्व गराउने छ ।’ उहाँले भन्नुभयो।

ललितपुर क्षेत्र नं ३ मा काँठ क्षेत्रका साविकको हरिसिद्धि, ठैब, बाडेगाउँ, सुनागुठी, ठेचो, बुंङ्गमती, खोकना ललितपुर महानगरपालिका १, २, ३, ४, ५, १०, १३, १४, १५, २० रहेका छन् ।

Loading...