युरोकपमा आज ६ टोली भिड्दै

काठमाडौं, ४ असार । युरोपियन च्याम्पियनसिपअन्तर्गत आज शुक्रबार तीन खेल हुँदै छन्।

आज समूह ‘डी’का दुई तथा समूह ‘ई’को एकसहित तीन खेल हुनेछन्। युरोकपको आजको मध्यराति हुने खेलमा बहुप्रतीक्षित इङ्ग्ल्याण्ड र स्कटल्याण्ड खेल्नेछन्।

आजको पहिलो खेलमा समूह ‘ई’का स्विडेन र स्लोभाकिया खेल्नेछन्। दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक तथा इङ्ग्ल्याण्ड र स्कटल्याण्ड भिड्नेछन्।

क्रोएसियाविरुद्ध चेक रिपब्लिक

समूह ‘डी’को दोस्रो चरणको पहिलो खेलमा आज क्रोएसिया र चेक रिपब्लिक खेल्दै छन्। खेल राति पौने १० बजे हुनेछ।

क्रोएसिया पहिलो जितको खोजीमा मैदान उत्रिनेछ। यता चेक रिपब्लिक पनि क्रोएसियालाई हराउँदै अर्को चरण प्रवेश गर्ने योजनामा छ।

हालसम्मको भेटमा चेक रिपब्लिकले क्रोएसियालाई हराउनसकेको छैन। यी दुई टोलीबीच हालसम्म ३ पटक मात्र भेट भएको छ।

ती ३ भेटमा २ खेल क्रोएसियाले जितेको छ भने एक खेल २–२ को बराबरीमा सकिएको थियो। युरोपियन च्याम्पिनयसिपमा दोस्रो पटक भेट हुनलागेका दुवै टोली जितको खोजीमा छन्।

यसअघि सन् २०१६ मा भएको युरोपियन च्याम्पियनसिपमा यी टोलीले २–२ गोलको बराबरी गर्दै अंक बाँडेका थिए।

समूह चरणको पहिलो खेलमा क्रोएसिया इङ्ल्याण्डसँग १–० ले पराजित भएको थियो। उता चेक रिपब्लिकले भने स्कटल्याण्डलाई २–० ले हराएको थियो।

स्विडेनविरुद्ध स्लोभाकिया

युरोकपअन्तर्गत आज समूह ‘ई’को दोस्रो राउण्डको पहिलो खेलमा स्विडेन र स्लोभाकिया खेल्दै छन्। खेल सेन्ट पिटर्सबर्ग स्टेडियममा साँझ पौने ७ बजे हुनेछ।

यी दुई टोली युरोपियन च्याम्पियनसिपमा पहिलो पटक भिड्नलागेका हुन्।

आजको खेलमा स्लोभाकिया स्विडेनलाई हराउँदै अन्तिम १६ मा स्थान बनाउन चाहन्छ। स्विडेन भने पहिलो जितको खोजीमा मैदान उत्रिनेछ।

आजको खेलमा स्विडेनलाई बराबरी या हारले पनि अघिल्लो चरण यात्रा कठिन बन्नेछ।

हेड टु हेडमा स्लोभाकियाभन्दा स्विडेन बलियो टोली हो। यी दुई टोलीबीचको ५ खेलमा स्लोभाकियाले स्विडेनलाई हराउनसकेको छैन।

हालसम्मको ५ भेटमा ३ खेलमा स्विडेन विजयी भएको छ भने दुई खेल बराबरीमा टुंगिएको छ।

स्विडेन र स्लोभाकियाको भेट पछिल्लो पटक सन् २०१८ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भएको थियो। सो खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

समूह चरणको पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो। स्विडेन र स्पेनले भने १–१ गोलको बराबरी खेलेका थिए।

स्कटल्याण्डविरुद्ध इङ्ल्याण्ड

युरोकपको आज रातिको अन्तिम खेलमा स्कटल्याण्ड र इङ्ल्याण्ड भिड्नेछन्। खेल मध्यराति पौने १ बजे एम्बेली स्टेडियम लन्डनमा हुनेछ।

चिरप्रतिद्वन्द्वी यी दुई टोलीको खेलका लागि फुटबल समर्थक उत्साहित छन्।

इङ्ल्याण्ड स्कटल्याण्डलाई हराउँदै अन्तिम १६ मा प्रवेश गर्न चाहन्छ। स्कटल्याण्ड बलियो टोली इङ्ल्याण्डलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ।

स्कटल्याण्डले सन् १९९९ को युरोपियन च्याम्पियनसिपपछि इङल्याण्डलाई हराउनसकेको छैन। स्कटल्याण्ड २२ वर्षपछि इङल्याण्डलाई हराउन आतुर छ। यी दुई टोली पछिल्लो पटक सन् २०१७ मा भेट भएको थियो।

सन् १८७२ पछिको हालसम्मको भेटमा इङ्ल्याण्डले स्कटल्याण्डलाई ४८ पटक हराएको छ भने ४१ खेलको नतिजा स्कटल्याण्डलाई सुम्पेको छ। २५ खेल भने बराबरीमा टुङगीएको छ।

समूह चरणको पहिलो खेलमा इङ्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको थियो। स्कटल्याण्ड भने चेक रिपब्लिकसँग २–० ले पराजित भएको थियो।

Loading...