खुलामञ्चलाई खुला गर्न महानगरले थाल्यो पहल

 

काठमाडौँ ।  खुलामञ्चलाई खुला गर्न काठमाडौँ महानगरले पहल थालेको छ । महाभुम्कंपले पूर्ण क्षति भएको दरबार हाइस्कुल र वीर अस्पताल निर्माण गर्न निर्माण सामग्री राख्न प्रयोग गरिएको कारण संगुरेको खुल्लामञ्च ति संरचनाहरु पुनः निर्माण सम्पन्न भए पछि काठमाडौँ महानगरपालिकाले थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको निर्देशन अनुसार दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग निर्माण सामग्री हटाउन छलफल भैरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताएका छन्। कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको ज्ञवालीको भनाइ रहेको छ ।
पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन,र्याली , आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीले बताए ।
भ्यू टावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायी रुपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गर्ने ज्ञवालीको भनाई छ । ‘भ्यु टावर निर्माणसँगै खुलामञ्चमा सरेको बसपार्क अहिले अस्थायी रुपमा सञ्चालनमा छ,’ ज्ञवालीले भन्नुभयो, ‘अस्थायी वसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठुला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ ।
वीर अस्पतालको पछाडी नया भबन निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल बारे अस्पताल प्रशासनले जनाएको छ।

 

 

 

 

 

Loading...