ट्राफिक डिआइजी नै भन्छन : उपत्यकाको ट्राफिक व्यवस्थापन धान्नै नसकिने भयाे

भक्तपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन् ।

भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गइरहेको बताए । ट्राफिक ब्यवस्थापन राजधानीको चुनौती भएको बताउँदै अब समय सीमा तोकेर सवारी सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

उपत्यका महानगरपालिकाको अवधारणासँगै दिनमा मात्र नभएर रात्रीकालीन अवस्थामा समेत सवारी सञ्चालन हुने भएकाले यसको व्यवस्थापनका लागि ट्राफिकले मात्र चाहेर केही गर्न नसक्ने अवस्था रहेको जानकारी दिए । सवारी साधान व्यवस्थापनबारे बेलामै दीर्घकालीन सोचका साथ अघि बढ्नु पर्ने उनको भनाइ थियो ।

त्यसैगरी सवारी साधन र सवारी चालकका कारण दुर्घटना बढ्न पनि बढिरहेको उनले बताए । जसले गर्दा ठूलो मात्रामा जनधनको क्षति भएको उनको भनाई छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रयाप्त जनशक्ति नरहेको पनि उनको भनाइ थियो । जनशक्तिको अभावका कारणले पनि ट्राफिक ब्यवस्थापनमा समस्या उत्पन्न भएको उनले बताए । त्यसका लागि सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । दिनानु दिन सवारीको चाप बढ्नु तर सडकको स्तरोन्नती गर्ने तर्फ ध्यान जान नसक्नुले सवारी जामका साथै दुर्घटना पनि बढ्ने गरेको उनको भनाइ थियो ।

Loading...