दाजुभाइले एकअर्का विरुद्ध गरे गोल

एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नापोलीले बेनेवेन्तोलाई २-१ ले पराजित गर्यो । उक्त खेलमा एउटा यस्तो संयोग थियो कि खेलमा एकै घरका दुई दाजुभाइ परस्पर विपरित टिमबाट खेलिरहेका थिए । संयोगले दुबै दाजुभाइले आआफ्नो टिमका लागि गोल पनि गरे तर अन्तिममा जित दाइको टिमको भयो । 

३० औँ मिनेटमा रोबर्टो इनसिग्नले गोल गरी घरेलु टोली बेनेवेन्तोलाई सुरुवाति अग्रता दिलाए । २६ वर्षका भाइले गरेको सो गोलका कारण पछि परेको आफ्नो टिमका लागि २९ वर्षका लोरेन्जो इनसिग्नले ६० औँ मिनेटमा गोल गरे ।

६७ औँ मिनेटमा आन्द्रेया पेताग्नाले गोल गरी नापोलीलाई जित दिलाए । दुवै गोलका लागि पोलितानोले सहयोग गरेका थिए ।

रोबर्टो २०१९ मा नापोली छोडेर बेनेवेन्तो गएका थिए । खेलपछि लोरेन्जोले यो खेल आफ्नो परिवारका लागि विशेष गरेको बताए । भाइलाई गोलका लागि बधाई दिएको र उसले पनि बधाई दिएको लोरेन्जोले बताए ।

जितपछि पाँच खेलबाट ११ अंक जोडेको नापोली दोस्रो स्थानमा उक्लिएको छ ।

Loading...