शुक्रबार भेटिए अहिलेसम्मकै बढी २०२० संक्रमित

काठमाडौं, २ असाेज । नेपालमा अहिलेसम्मकै धेरै काेराेना संक्रमित भेटिएका छन् । लकडाउन खुकुलाे बनाएर लामाे दुरीका सार्वजनिक यातायात समेत खुल्ला गरिए लगत्तै संक्रमणले २ हजार संख्या नाघेकाे हाे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार २०२० जना नयाँ संक्रमित भेटिएकाे जानकारी दिएकाे हाे । पछिल्लो २४ घण्टामा ११४५८ वटा पीसीआर परीक्षणमा गरिएकाेमा २०२० संक्रमित भेटिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६१५९३ पुगेको छ । मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १७३८३ जना रहेकाे जनाएकाे छ । त्यसमध्ये संस्थागत आइसोलेसनमा ९२९५ जना रहेकाे र ८०८८ जना होम आइसोलेसनमा रहेकाे जनाएकाे छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ८७१ जना डिस्चार्ज भएका छन् । यससँगै शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३८२० जना पुगेको छ । संक्रमितमध्ये १७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयले मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही जिल्लाहरु ५०० भन्दा बढी संक्रमित रहेको जिल्ला भएकाे जानकारी दिएकाे छ । अहिलेसम्म सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा भने काेराेना संक्रमित नभेटिएकाे पनि मन्त्रालयले जनाएकाे छ । 

Loading...