पाँच हजार मिटर अग्लो स्थानमा निर्माण भयो १०८ सिंढीको भ्यूटावर

हुम्ला । हुम्ला जिल्लाको मारघोर हिमालमा रहेको पाँच हजार मिटर अग्लो स्थानमा १०८ वटा सिंढी भएकाे भ्यूटावर निर्माण गरिएको छ । प्राकृतिक रुपमा रहेको भिमदुलामा बनेकाे यस भ्यूटावरबाट सबैतिर अवलोकन गर्न अब सहज हुने भएको छ ।

महाभारतकालीन पाँच पाण्डवमध्ये एक सदस्य भिमसँग यहाँको लोककथन जोडिएको छ । जब पाण्डवहरु बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवासको अवस्थामा रहँदा उनीहरु बसेको ठाउँमा जब राक्षसी प्रवृत्तिहरुको अत्याचार बढ्दै गयो, तब उनीहरुको बध गर्नका लागि विभिन्न तामसीक कामहरु गर्नु परेकाले यो गुफा पनि त्यही समय बनेको सिमकोट गाउँका अदानसिंह रावत बताउँछन् । उनले भने, “सिंजाको पाण्डव गुफाबाट ढुंगा हानेर होल्मोलुङरिङको राक्षसलाई मार्न खोज्दा चंखेली, मारघोर हिमाल प्वाल पारेर सिमकोट खसेको हो ।”

यो भिमदुला खार्पुनाथ गाउँपालिका खर्केगाड गाउँपालिकाको बीचमा रहेको छ । यो हिमाल परापूर्वकालमा ऋषी महर्षिहरुको तपोभूमि भए पनि यहाँ नयाँ नयाँ बस्ती गर्ने जातीय समुदायका कारण यहाँको इतिहास र जानकारी लोप भएको सर्केगाड गाउँपालिका राहदेउ गाउँका स्थानीय डा. दीपेन्द्र रोकायाको मत रहेको छ । उनले भने, “हुम्ला शैवस्थल भएकाले यहाँ राक्षसी गणहरुको पनि धेरै बाहुल्यता रहेको थियो । यसैले पनि यो हिमालको महत्व ठूलो छ ।”

पछिल्लो समय डिभिजन वन कार्यालय हुम्लाले ५० लाखमा तयार गरेको भ्यूटावर र एक सय ८ सिंढीको निर्माणले स्थानीयस्तरमा नयाँ पर्यटकीय गन्तव्य रुपमा प्रचार प्रसार हुन लागेको कार्यालय प्रमुख निरज झाको स्वीकारोक्ति रहेको छ ।

यसको काखैमा रहेको दुधेदह र विभिन्न जडिबुटीहरुको खानी भएकाले पनि यहाँ एक पटक पुग्ने पर्ने ऐतिहासिक र धार्मिक स्थल भएको खार्पुनाथ गापा दुर्पा गाउँका स्थानीय धनबहादुर ऐडीले बताए ।

पछिल्लो समय एकातिर लामो समयको लकडाउनका कारण पनि स्थानीय, कर्मचारी, शिक्षक र अन्यहरु यहाँ पटक पटक जाने गरेको सिमकोट ५ का राजबहादुर रोकाया बताउँछन । उनले भने, “याे क्षेत्र प्राकृतिक रुपमा अति रमणीय र सुन्दर छ । शान्त र विशाल छ । यहाँबाट चारैतिर अनेकौं हिमशैलले आँखालाई अंकमाल गर्न आउँछन् ।”

 

Loading...