पहिलोपटक ‘एन्टी स्नेक भेनम’को उत्पादन

काठमाडौं ।  नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ ।

 

निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन वर्षभित्र सर्पदंशको औषधि उत्पादन गरी बजारमा ल्याइने कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले बताउनुभयो ।

 

वार्षिक १५ लाख भायल सर्पदंश औषधि उत्पादन गर्ने लक्ष्यका साथ दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन र पूर्वाधारको कामसँगै अघि बढाइनेछ ।

 

कम्पनी स्थापनाबाट ४०० व्यक्तिले रोजगारी पाउनुका साथै औषधिबाट वार्षिक रु एक अर्ब बराबरको विदेशबाट मुद्रा भित्र्याउने लक्ष्य लिइएको छ । सर्पदंश औषधिमा देशलाई आत्मनिर्भर बनाई विदेश निर्यात गर्ने कम्पनीको लक्ष्य छ ।

 

हाल सरकारले वार्षिक ३० हजार भायल (करिब रु चार करोड बराबरको) सर्पदंश औषधि गरिद गरी विभिन्न उपचार केन्द्रलाई निःशुल्क औषधि गराई सर्पदंशका बिरामीले उपचार पाउँदै आएको बताइएको छ ।

 

कम्पनीले उत्पादन गर्ने १५ लाख भायल औषधिको बजार मूल्य रु १३ अर्ब ५३ करोड पर्न जान्छ । ठूलो मात्रामा कम्पनीले उत्पादन गर्ने औषधि नेपाल सरकारलाई बेच्ने र बाँकी रहेको औषधि विदेशी बजारमा निर्यात गर्ने कम्पनीले जनाएको छ ।्

 

राज्यको सर्पदंश औषधि उत्पादनमा कानून अभावका कारण आफ्नो कम्पनीले झण्डै चारवर्ष लामो संघर्षपश्चात् सरकारीतर्फबाट कम्पनी स्थापना स्वीकृति पाएकाले अब पूर्वाधार निर्माणका काम शुरु गरिने अध्यक्ष फुयाँलको भनाइ छ ।

 

अहिले भारतबाट आयात हुने औषधिले नेपालमा सर्पको डसाइबाट पीडित भएका बिरामीको उपचार भइरहेको छ । उक्त औषधि नेपालमै बनेमा जनताले सहज तरिकाले उपचार पाउनेछन् ।

 

कम्पनीका प्राविधिक सल्लाहकार डा जगन्नाथ राईले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सर्पदंश औषधि उत्पादन गरी विदेश निर्यात गरिने बताए ।

 

उनका अनुसार औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र प्राविधिक जनशक्ति नेपालमै पर्याप्त रहेको र केही प्राविधिकलाई तालीमका लागि विदेश पठाइएको जानकारी दिए ।

 

सर्पदंशको औषधि सर्पको बिष निकालेर प्रशोधन गरी घोडामा प्रयोग गरिन्छ, त्यसपछि प्राविधिक प्रक्रिया पु¥याई औषधि तयार गरिन्छ ।

 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष विश्वभर प्रतिवर्ष एक लाखमा १६२ जनाको मृत्यु सर्पको डसाइबाट हुने गरेको छ । नेपालमा पनि एक वर्षमा करिब एक हजार व्यक्तिको मृत्यु हुने गरेको विभिन्न सर्वेक्षणले देखाएको छ ।

Loading...