किनेको २ वर्ष नबित्दै गाडी मर्मतमा ६३ लाख खर्च गर्ने प्रदेशसभाका सबै फाइल अख्तियारको छानविनमा

बुटवल, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश ५ को प्रदेशसभामा भएको अनियमितताको अनुसन्धान सुरु गरेको छ । गाडी मर्मतका लागि ६० लाख भन्दा बढी खर्च गरेको भेटिएपछि त्यसका बारेमा आयोगमा उजुरी परेको थियो । आयोगले उजुरी आएपछि त्यसको अनुसन्धान थालेको हो ।

प्रदेश सभा सचिवालयले गाडी मर्मतमा गरेको ६० लाख रुपैयाँ भन्दा बढी खर्च र प्रदेश सभाका सचिव र लेखा अधिकृतले कानून विपरीत घरभाडा लिँदै आएको भन्दै त्यसमाथि आयोगमा उजुरी परेको थियो ।

३२ वटा सवारी साधन मर्मतमा प्रदेश सभा सचिवालयले २३ महिनामा ६३ लाख खर्च गरेको देखिएको छ । किनेको दुई वर्ष पनि नबित्दै यति ठूलो रकम खर्च गरेको खुलेपछि यसका बारेमा प्रदेशमा धेरै प्रश्न उठेको थियो । प्रश्नहरु उठेपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले समिति नै बनाएर छानविन गरेको थियो । प्रदेश सभा सदस्य सांसद वैजनाथ जैसवाल कलवारको संयोजकत्वमा छानविन समितिले अहिले पनि अध्ययन गरिरहेको जनाएको छ । छानविन समितिले अध्ययन गरिरहँदा अख्तियारमा उजुरी पनि परेको थियो । उजुरी परेपछि आयोगले अनुसन्धान गरेको हो ।

अख्तियार अनुसन्धान आयोगको बुटवल कार्यालयले प्रदेश सभा सचिवालयबाट सबै फाइल मगाएर अनुसन्धान थालेको जनाएको छ । आयोगका बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसाल अनुसन्धान प्रकृया अघि बढाएको जानकारी दिए ।

प्रदेश सभाले आर्थिक वर्ष २०७५ ७६ मा ८ करोड ६१ लाख रुपैयाँमा ११ वटा जीप, एउटा स्कोर्पियो गाडी, एउटा कार, चारवटा मोटरसाइकल र तीन वटा स्कुटर किनेको थियो । किनिएका सवारी साधान गाडी सभामुख, उपसभामुख, प्रदेश सभाका सातवटा समितिका सभापति, सत्तापक्ष र विपक्षी दलको प्रमुख सचेतक, प्रदेश सभा सचिव र उपसचिवलाई सुविधा वापत दिइएको छ । एउटा जीपमा बजार मूल्यभन्दा ३ लाख ३९ हजार ९९९ रुपैयासम्म बढी रकम तिरेको पाइएपछि लेखा समितिले ३७ लाख ३९ हजार ९८९ रुपैयाँ फिर्ता गराएको थियो ।

Loading...