निर्मला हत्या प्रकरणमा निलम्बित एसपी बिष्टसहित ८ प्रहरी अधिकारीले पाए सफाइ

काठमाडौं, १५ साउन । निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराम बिष्टसहित ८ प्रहरीले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको र हिरासतमा लगिएका व्यक्तिलाइ चरम यातना दिएकाे आरोपमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखसहित ८ प्रहरी अधिकारी निलम्बनमा परेका थिए ।

एसपी बिष्ट सहित ८ जना प्रहरी विरुद्ध सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियाे साेही मुद्दाकाे सुनुवाइ गर्दै जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाइ सफाइ दिएकाे हाे । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएका हुन् ।

अदालतबाट सफाइ पाएपछि निलम्बित प्रहरी अधिकारीहरुलाई काममा फर्किन बाटो खुलेको छ । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।

Loading...