बारेकोटको धुमामा बाढीले बगाएर २ वेपत्ता १ घाइते, ठूलो बाली नस्ट

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिकाको धुमामा बाढीले बगाएर २ जना वेपत्ता भएका छन् ।

शुक्रबार बिहान एक्कासी बाढी आउँदा बाटोमा हिडिरहेका ४ जना बगेको र २ जनालाइृ उद्धार गरिएको स्थानीय सुशिल बस्नेतले जानकारी दिएका छन् । उनले बाढीमा अरु पनि बगेको हुनसक्ने बताए । बिहीबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारण बारेकोट गाउँपालिकाको वार्ड नम्बर ६ को धुमा गाउँमा उक्त बाढी आएको हो । अहिलेसम्म पनि पानी परिरहेकोले उद्धार गर्न नसकिएको उनले जानकारी दिए ।

बाढीमा परेर करिव २० वर्षका शान्त बहादुर चलाउने, १० वर्षीय प्रचण्ड चलाउने वेपत्ता छन् । बाढीमा बगेका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाइ भने स्थानीयले उद्धार गरेका छन् । उद्धार गरिएका मध्ये रामचन्द्र चलाउने गम्भीर घाइते भएका छन् ।

धुमा गाउँको प्राथमिक विद्यालय नजिकै रहेको खोलामा एक्कासी उक्त बाढी आएको हो । बाढीले त्यस क्षेत्रमा ठूलो पहिरो पनि गएको छ । बाढी र पहिरोले स्थानीयको बालीनाली पूरै सखाप पारेको छ ।

बाढीले क्षति पुर्याएको धुमा गाउँमा सञ्चार सेवा अवरुद्ध छ । स्थानीयले उद्धारका लागि प्रहरी र सेनालाइृ आग्रह गरेका छन् ।

Loading...