वर्ल्ड नेवाः अर्गनाइजेसनबाट आमा घरलाई सहयोग

वर्ल्ड नेवाः अर्गनाइजेसनको पहलमा असहाय ज्येष्ठ नागरिकको हेरविचार गर्दै आएको आमा घरलाई सहयोग प्रदान गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण आमा घरलाई समस्या भएपछि वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्युएनओ) बाट सहयोग गरिएको हो । अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष सिजन श्रेष्ठको पहलमा अमेरीकाबाट पठाइएको आर्थिक सहयोग अर्गनाइजेसनको नेपाल च्याप्टरका प्रतिनिधिहरुले आमा घरकी संचालक दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । आमा घरको लागि भन्दै अमेरिकाको मेरिल्यान्डमा बसिरहेका सुमन कुमार सिंह (सुमन नेवाः)ले प्रदान गरेको एक हजार डलर (नेपाली १ लाख २० हजार रुपैयाँ) आइतबार आमा घरका संचालक दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरियो । नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन र कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठले आमा घरकी संचालक श्रेष्ठलाई हस्तान्तरण गरे । आमा घरकी संचालक समाजसेवी श्रेष्ठले अर्गनाइजेसन र सुमन नेवाःप्रति कृतज्ञता पोख्दै कोरोना महामारीको अवस्थामा पनि आफुले असहाय वृद्धवृद्धाहरुलाई सेवा गर्दै आएको बताउनुभयो । बाटोमा अलपत्र परेका वृद्धवृद्धालाई प्रहरीले आमा घर ल्याइ छोडिदिने र उनीहरुलाई १४ दिनसम्म अलग्गै कोठामा राखेर हेरविचार गर्दै आमा घरमै आश्रय दिइरहेको श्रेष्ठले जानकारी गराउनुभयो ।

Loading...