काठमाडौँ । भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गर्नुभएको हो ।
राष्ट्रियसभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले कोविड–१९ जस्तो अदृष्य शत्रुसँगको लडाईँमा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई महानगरपालिकाको तर्फबाट सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘दिनप्रतिदिन संक्रमितको संख्यामा वृद्धि भैरहेको छ । यो क्रम कहिलेसम्म निरन्तर रहन्छ भन्ने कुनै निश्चित छैन । यस्तो बेलामा अग्रमोर्चामा खटिएका चिकित्सकहरुलाई मनोबल उच्च बनाएर संक्रमितको उपचारमा खटिन सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘तपाईँहरुको ज्ञान–सीपको उच्चतम सदुपयोग गर्ने बेला हो, यो । आगामी दिनमा थप सहकार्य र समन्वय गरेर अघि बढ्न काठमाडौँ महानगरपालिका तयार छ ।’
शाक्यले अन्य ठाउँको तुलनामा काठमाडौँ अहिले तुलनात्मक रुपमा शान्त रहेको भन्दै चालिस लाख बढी जनसंख्या रहेको उपत्यकामा संक्रमण फैलियो भने भयावह अवस्था सिर्जना हुने भएकाले उपत्यकावासीलाई थप सचेतना फैलाउनका लागि चिकित्सकहरुको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो । ‘अहिले कोरोना संक्रमित भनेपछि नागरिकहरु आतंकित हुने अवस्था छ,’ शाक्यले भन्नुभयो, ‘विश्वमा भएका सकारात्मक अनुभवको समेत मूल्याङ्कन गरेर नेपाली जनतालाई सकारात्मक सन्देश दिनेगरी जनचेतना प्रवाह गर्ने कुरामा भूमिका खेल्नुहोला । हाम्रो तर्फबाट आवश्यक सहयोग गर्न तयार छौँ ।’
शाक्यले अहिले भारतबाट नेपाली नागरिकहरु नेपाल आउने क्रम बढीरहेको र केही समयपछि खाडी, मलेसियालगायत तेस्रो मुलुकबाट पनि नागरिक नेपाल ल्याउने तयारी भएकाले चिकित्सकहरुको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो । ‘एकै पटकमा धेरै नेपालीलाई ल्याउँदा उनीहरुलाई होल्डिङ सेन्टर र क्वारेण्टायनमा राख्नुपर्ने हुन्छ,’ शाक्यले भन्नुभयो, ‘त्यस्तो बेलामा कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँको अग्रमोर्चामा खटिने चिकित्सकहरुलाई आवश्यक सामाग्रीको थप जरुरत पर्छ । त्यो बेलामा पनि हाम्रो तर्फबाट सक्ने सहयोग रहने नै छ ।’
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले कोरोनालाई आतंकमाथिको आतंक हो भन्ने ढंगले बुझ्दा थप समस्या भएको भन्दै यस्तो सन्र्दभमा पनि जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । ‘केरोना आतंकमाथिको आतंक हो भन्ने ढंगले बुझियो,’ अर्यालले भन्नुभयो, ‘यो संक्रमणबाट नआत्तिनु होला भन्ने खालका सन्देश नागरिकलाई दिएर केही हदसम्म ढुक्क हुने वातावरण सिर्जना गर्ने कुरामा तपाईँहरुको दायित्व छ । यसका लाग्नुहोला । हामी हाम्रो तर्फबाट सहयोग गर्न तयार छौँ ।’
नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर कोइरालाले संयमता अपनाउने र बढी चिन्ता नलिने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिने बताउनुभयो । ‘तपाईँ बाहिर जानु भएन भने कोरोना भित्र आउँदैन,’ कोइरालाले भन्नुभयो, ‘ लापरवाही गरियो भने कोरोनासँगको युद्धमा पराजित भइन्छ ।’
उहाँले चिकित्सकहरु विज्ञता दिन तयार रहेको भन्दै सबैको सहयोग आवश्यक भएको बताउनुुभयो । ‘पीपीई, मास्क, पञ्जाको प्रयोग गर्ने विधि, त्यसको गुणस्तर लगायतका विषयमा पनि चिकित्सकहरुलाई प्रशिक्षण आवश्यक छ,’ कोइरालाले भन्नुभयो, ‘हामी सहकार्य गरेर अघि बढौँ । आगामी दिनमा आउने चुनौतिलाई समेत सहजै सामना गरेर अघि बढ्न सक्ने वातावरण निर्माण हुन्छ ।’
नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर कार्कीले काठमाडौँ महानगरपालिकाको सहयोगले आफूहरु उत्साहित भएको बताउनुभयो । ‘अहिले पनि कार्यक्षेत्रमै चिकित्सकहरुले कुटाइ खानु परेको, मनोवल कमजोर पार्ने खालका गतिविधिको सामना गर्नु परेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘यो सहयोगले केही हदसम्म भए पनि कार्य क्षेत्रमा खटेका चिकित्सकहरुको मनोबल बढ्ने अपेक्षा गरेका छौँ ।’
उहाँले अहिले कोरोना संक्रमितलाई हेयको दृष्टिले हेर्ने गरिएको भन्दै यस्तो विषयमा पनि जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । ‘हामी विश्वमा कोरोना संक्रमितहरु कोरोना मुक्त भएर कसरी सहज जीवनमा फर्किएका छन् । नेपालमा बढ्दै गएको संक्रमणलाई कसरी न्युनिकरण गरी सहज जीवनमा फर्काउन सकिन्छ ? यस्ता विषय समेटेर सन्देशमुलुक सामाग्री दिन तयार छौँ,’ उहाँले भन्नुभयो, ‘यसका लागि नाटक, विज्ञापन आदिका माध्ययमबाट पनि जनचेतना फैलाउन सकिन्छ । त्यसका लागि हामीसँग विज्ञता छ । सबैको सहयोग भयो भने हामी यसका लागि तयार छौँ ।’
उहाँले कोरोनाको कहरबाट परेको मनोवैज्ञानिक असरका बारेमा पनि काउन्सीलिङ गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो । उहाँले संघमा १० हजार बढी चिकित्सक आवद्ध रहेको भन्दै आगामी दिनमा काठमाडौँ महानगरपालिकासँग थप सहकार्य गरेर अघि बढ्न संघ तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेल, चिकित्सक संघका महासचिव बद्री रिजाललगायत पनि सहभागी हुनुहुन्थ्यो ।

Loading...