सप्तरीबाट आएको बस हेटौडा छोडेर चालकले अर्को बसमा यात्रु राखेर ल्याएको खुलासा

रमानाथकाे एकै परिवारका पाँच सदस्य र दुर्इ अाफन्त चतुरनारायणका चार छोरीको मृत्यु

 

धादिङ, ११ कार्तिक । त्रुशुली नदीमा खसेकाे बसका चालकले साे बस बाटाेमै फेरेर ल्याएकाे खुलासा भएकाे छ । उक्त दुर्घटनामा परी ज्यान जानेकाे सङ्ख्या अहिलेसम्म ३१ पुगेकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडाै अाउँदै गरेकाे रात्रीबस शनिवार बिहान ५ बजेतिर यात्रुसहित त्रिशुली नदीमा खसेकाे थियाे ।

राजविराजबाट ना ६ ख १४६८ नम्बरकाे बस चालकले ल्याएका थिए । हेटाैडामा अाइपुगेपछि उक्त बसमा चढेका सबै यात्रुलार्इ अर्काे बसमा हालेर साे बस हेटाैडामा छाेडिएकाे थियाे । हेटाैडाबाट ना ६ ख १४६७ नम्बरकाे बस ल्याइएकाे थियाे । साेही बदलिएकाे बस नारायणगढ-मुग्लिनकाे भिरालाे अप्ठ्याराे काटेर गजुरी अाएपछि त्रिशुली नदीमा खसेकाे हाे ।

पृथ्वीराजमार्गकाे धादिङ गजुरी गाउँपालिकाकाे वार्ड नं. ५ घाटवेशीमा पुग्दा उक्त बस अत्यधिक गतिमा रहेकाे बुझिएकाे छ । तीब्र गतिमा अाएकाे बसलार्इ चालकले नियन्त्रण गुमाएपछि नदीमा खसेकाे थाहा भएकाे छ । बस नदीमा खसे लगत्तै फुटेकाे झ्यालबाट केही यात्रु घाइते अवस्थामा बाहिर निस्कन सफल भएका थिए । दुर्इ जना यात्रु पाैडदै बाहिर निस्केका थिए भने बाँकीलार्इ लगत्तै पुगेका स्थानीयवासी र प्रहरीले उद्धार गरेकाे थियाे । त्यसरी पाैडेर बाँच्ने यात्रु १६ जना रहेकाे प्रहरीले जनाएकाे छ । बाँकी यात्रु भने वेपत्ता थिए । सुरुमा बस समेत नदीमा वेपत्ता थियाे ।

प्रहरीले शनिवार साँझसम्म ३१ जनाकाे शव निकालेकाे छ । अधिकांश यात्रुहरु डुबेकाे बसभित्रै च्यापिएर मृत्यु भएकाे छ । बाँकी १६ यात्रु अझै वेपत्ता अवस्थामा रहेकाे प्रहरीले जनाएकाे छ । बसमा अधिकांश यात्रुहरु सप्तरीका रहेकाे थाहा भएकाे छ ।

घाइते अवस्थामा उद्धार गरिएका यात्रु सुरेन्द्र कुमार यादवले बस अत्यधिक गतिमा रहेकाे र चालकले नियन्त्रण गर्न नसकेर घुम्तिबाट नदीमा खसेका बताएका छन् । उनले हेटाैडाबाटै बस निकै तीब्र गतिमा ल्याइएकाे बताए । उनले अत्यधिक गतिका कारण बाटाेमा पनि सिटमा यात्रुहरुकाे टाउकाे ठाेक्काउँदै बस अाएकाे जानकारी दिए । उनले भने, ‘हेटौँडाबाट गाडी परिवर्तन गर्ने बित्तिकै ड्राइभरले एकदमै तिब्र गतिमा बस चलाएका थिए, बाटोमा पनि तीव्र गतिका कारण सिटमै हामीले टाउँको ठोक्काउँदै आएका थियौँ, एक्कासी पानीमा बस पसेपछि मात्रै हामीले दुर्घटना भएको थाहा पायौँ, पानीको आहालमा बस पौडी खेल्दै गर्दा सिसा फुटेको झ्यालबाट बाहिर निस्किएकाले ज्यान बच्यो।’

स्राेतका अनुसार सप्तरीबाट हेटाैडामा पुगेकाे ना ६ ख १४६८ नम्बरको बसकाे पट्टा भाँचिएका कारण अर्काे बस बदल्नुपरेकाे थियो। बसको पट्टा भाँचिएपछि चालकले हेटौंडामा रहेकाे ना ६ ख १४६७ नम्बरको बसमा सारेर ल्याएका थिए।

घाइते भएका मध्ये सप्तरी राजविराज ६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई गजुरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको गजुरी अस्पतालले जानकारी दिएको छ। बाँकी १४ जनाको भने गजुरी अस्पतालमा नै उपचार भइरहेको छ।

मृत्यु हुनेमा सप्तरीकाे तिलाठीका पण्डित रमानाथ झाको एकै परिवारका पाँच सदस्य रहेका छन् । साथै उनका दुई आफन्तको पनि मृत्यु भएको छ । उनका छोरा संजीतकुमार झा, बुहारी सिमी, १० बर्षीय नाती अभिनव, ४ बर्षीय नाती प्रतिक र छोरा अन्जितको ज्यान गएको छ । यस्तै रंजीतका साली पूजा र सालो बिटुको पनि दुर्घटनामा निधन भएको छ ।

त्यसैगरी बोदे बर्साइन नगरपालिका ७ मानराजा निवासी चतुरनारायण प्रमाणीका चार छोरीको निधन भएको छ । बसमा रहेका अधिकांश यात्रुहरु छठ पर्व मनाएर काठमाडौं फर्किँदै गरेका बुझिएकाे छ ।

मृत्यु हुनेमा सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ वर्षिय सिमी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० र्बिषय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा न.पा १५ का सहचालक १८ वर्षिय नरेश मुखिया, सप्तरी जिल्ला बोधेवरसाई न.पा ३ का १५ वर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न.पा. १६ का ७४ वर्षिय चन्द्रवती झा रहेका छन् । त्यस्तै सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ वर्षिय मन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ वर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला बोधेवरसाई न.पा २ का ६ वर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ का ३८ वर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ वर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ वर्षिय रमानन्द यादव र भारतको मधुवनी जिल्ला विहार निवासी २९ वर्षिय ममतादेबी ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ ।

सिरहा जिल्ला नरहा गाउपालिका १ निवासी ३० वर्षीय उदय मण्डल, सप्तरी वोधवसाई नगरपालिका २ निवासी १३ वर्षीय समिक्षा कुमारी यादव, सप्तरी जिल्ला महदेवा गाउँपालिका ९ निवासी प्रमोद ईशार, सप्तरी जिल्ला कृष्णसोवरन गाउपालिका ४ का ५ वर्षीय समिक्षा यादव, सिराहा जिल्ला लाहान नगरपालिका १ का ३७ वर्षिय प्रभा चौधरी, सप्तरी जिल्ला राजविराज नगरपालिका १३का विकास निर्माण कार्यदल गण २ प्रा.सु ३० वर्षीय ऋषिखा नन्द, सप्तरी जिल्ला राजविराज नगरपालिका १४ का २० वर्षीय आदित्य झा, सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका २ का ५ वर्षीय संगीत चौधरी, सप्तरी जिल्ला वोधवर्षाई नगरपालिका २ का २५ वर्षीय आशिका कुमारी यादव, सप्तरी जिल्ला वोधवर्षाई नगरपालिका २ का ११ महिने वालिका मानवी यादव, सप्तरी जिल्ला वसेज नगरपालिका ७ का ३० वर्षीय सुरेन्द्र चौधरी, सप्तरी जिल्ला कृष्णसहवगोया गाउपालिका ४ का २८ वर्षीय सुधीरा यादव रहेका छन्।

Loading...