बल्ल गर्यो प्रहरीले सर्वेन्द्र खनाल र महेश बस्नेत विरुद्ध अपहरण मुदा दर्ता

काठमाडौं, २६ बैशाख । नेपाल प्रहरीका पूर्व प्रमुख (आईजीपी) सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध अपहरण मुद्दा दर्ता भएको छ। उनीहरुले केही दिन अघि सांसद सुरेन्द्र यादवलाइ उनकै घरबाट अपहरण गरी काठमाडाैं ल्याएर बन्दी बनाएकाे खबर सार्वजनिक भएकाे थियाे । त्यसका विरुद्ध यसअघि सांसद यादव र उनकाे दलका नेताहरुले मुद्दा दर्ता गर्न खाेजे पनि प्रहरी र सरकारी वकिलकाे कार्यालयले समेत मुद्दा दर्ता गर्न मानेकाे थिएन ।

शुक्रबार सरकारी वकिल कार्यालयबाट सोसम्बन्धी पत्र प्राप्त भएपछि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। ‘सरकारी वकिल कार्यालयबाट समेत पत्र प्राप्त भएको हुँदा सो मुद्दा दर्ता गरी त्यसबारे अनुसन्धान गर्नका लागि काठमाडौं र महोत्तरीबाट छुट्टाछुट्टै टोली समेत खटाइसकिएको छ,’ एक प्रहरी अधिकारीले बताए।

आफ्ना सांसदलाई पूर्व प्रहरीप्रमुख र सत्तारुढ दलका सांसदले अपहरण गरेको आरोपमा उजुरी दर्ता गर्न पुगेका नवगठित जनता समाजवादी पार्टीका नेताहरुलाई वैशाख १६ गते सरकारी वकिलको कार्यालयले दर्ता नगरी फिर्ता पठाएको थियो।

त्यहाँ पनि दर्ता नभएपछि जनता समाजवादीका नेता राजेन्द्र महतो लगायतले त्यसको विरोध गरेका थिए। त्यसअघि वैशाख १४ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता नभएपछि जनता समाजवादीका नेताहरु सो जाहेरी दर्ता गर्न काठमाडौं सरकारी वकिलको कार्यालय पुगेका थिए।

Loading...