ठूला होटेलहरु ६ महिना बन्द गर्ने निर्णय, मजदुरको तलब १२.५ प्रतिशतमात्र दिइने

काठमाडौं । विश्वव्यापी रुपमा त्रास फैलाएकाे काेराेना भाइरसका कारण नेपालका ठूला हाेटलहरु बन्द हुने भएका छन् । हाेटल संघ नेपाल (हान) ले निर्णय नै गरेर ६ महिना ठूला होटलहरु ६ महिना बन्द गर्ने जनाएकाे हाे ।

आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । याे निर्णय वैशाख १ गतेदेखि नै लागू हुने र ६ महिनासम्म रहने हानले जनाएकाे छ ।

संघले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय पनि गरेको छ । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने निर्णय गरेकाे थियाे । बाँकी ५० प्रतिशत तलबका लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय पनि सरकारले गरेको थियो । सरकारकाे उक्त निर्णय सार्वजनिक भएको दोस्रो दिनमै व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरेका हुन् ।

संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय पनि गरेको छ । सहमतिअनुसार असोजसम्म कर्मचारीलाई आधारभूत तलबको १२.५ प्रतिशत दिइनेछ । सेवा शुल्क उपलब्ध गराउने होटलले सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराउनेछन् । आधारभूत तलबको १२.५ प्रतिशत तलब लिन नमान्नेलाई जागिरबाट निकाल्ने सहमतिमा उल्लेख छ ।

साथै आधारभूत तलबको १२.५ प्रतिशतमा सरकारले थप गरी तलब भुक्तान गर्न जब रिजेन्सन फण्डको व्यवस्था गर्न होटल संघ र ट्रेड युनियनले सरकारसँग पहल गर्ने लगागतका विषय पनि सहमतिमा छन् ।

Loading...