शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

दोषि देखिए एक वर्ष सम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने व्यवस्था

  काठमाडौं ।  कालोबजारीको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई साता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद थप गरि अनुमति दिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई मंगलबार तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रूपैयाँमा बेचेको आरोपमा ६७ थान ज्वरो नाप्ने थर्मल गन सहित रंगेहात पक्राउ गरेको थियो । बिहिबार महाशाखाले अग्रवाललाइ काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको छ ।

प्रहरीले अग्रवाललाई कालोबजारी ऐन २०३२ अनुसार कार्वाही अगाडी बढाएको छ । महाशाखालाइ जिल्ला प्रशासन कार्यालयले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।   

कालो बजार तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ को खण्ड (क)मा नेपाल सरकारले मोल निर्धारण गरिदिएकोमा सो मोलमा र मोल निर्धारण नगरिदिएकोमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मालवस्तुको उत्पादक, आयत वा मुख्य वितरकले निर्धारण गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो मालवस्तुको मोल फिर्ता गराई निजलाई एक वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । यसै गरी सोही खण्डमा १० लाख रुपियाँसम्म जरिवाना हुने पनि उल्लेख गरिएको छ ।

Loading...