खरिपाटीस्थित क्‍वारेन्टाइनमा राखिएका सबैकाे कोरोना नेगेटिभ

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्‍वारेन्टाइनमा राखिएका सबैकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत उक्त रिपोर्टबारे जानकारी गराएका हुन् । ‘खरिपाटी क्‍वारेन्टाइनमा रहेका सबै ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।’ डा देवकोटाले भने ।

अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपनि जवर्जस्ती नेपाल आएका उनीहरुलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको थियो । शुरुमा ७३ जना राखिएका भएपनि पछि पुन: २३ जना थपिएर ९६ जना पुगेका थिए । चीनबाट उद्धार गरिएकाकै जस्तोगरी उनीहरुलाई राखिएको थियो । शुरुमा बस्न नमाने पनि त्यहाँको व्यवस्थापन देखेर पछि खुशीसाथ उनीहरु बसेका भक्तपुर सिडिओ हुमकला पाण्डेले बताइन् । ”उहाँहरुको रिपोर्टमा कोरोना नदेखिनु खुशीको समाचार हो ।” उनले भनिन् ।

टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षणका लागि लगिएको थियो । सबैको नमूना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुसंग जोडिएका क्वारेन्टाइनका स्वास्थ्यकर्मीहरु समेत सुरक्षित देखिएका छन् । यस अघि पनि चीनबाट उद्दार गरी ल्याएका सबै नै सुरक्षित देखिएका थिए ।

Loading...