नेपाललाइ सहयोग गर्न कोरियामा उठाइयो करोडौ सहयोग, २ हजार कोरोना जाँच किट पठाउने तयारी

काठमाडौं, १५ चैत । गैर अावासीय नेपाली संघ काेरियाले नेपाललाइ कोरोनाकाे भाइरस जाँच्ने किट सहयाेग गर्ने भएकाे छ । एनअारएन काेरियाले काेराेना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स सहयाेग गर्ने जनाएकाे छ । उक्त किट खरिद गर्नका लागि एनअारएन काेरियाले काेरियामा रहेका नेपालीबाट दुई दिनमा रु एक करोड बीस लाख संकलन भएको र अझै सहयोग संकलन जारी रहने जनाएकाे छ ।

एनआरएन कोरियाका महासचिव डा विमल सुवेदीले शुक्रबारसम्म चार हजार ५६७ नेपालीबाट ११ करोड ९८ लाख ९३ हजार ४२२ कोरियन वन (झण्डै रु एक करोड बीस लाख ) संकलन भएको जानकारी दिए ।

सहयोग संकलन आज (चैत १५) गते कोरियन समयानुसार अपराह्न १ बजेसम्म व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्नेले साँझ ५ बजेसम्म सहयोग गर्न सक्ने बताइएको छ ।

दुई दिनमै कोरियामा रहेका नेपालीबाट यति ठूलो सहयोग संकलन भए पनि नेपाल पठाउने भनिएको किट्स पठाउन भने असहज भएको छ । योजनानुरुप शुक्रबार नै नियमित उडानमार्फत किट्स चीनको ग्वान्जाउ पुर्‍याउने र शनिबार नेपाल सरकारले विमान चार्टर गरेर नेपाल पुर्‍याउने भनिए पनि कोरोनाको कारण कोरियाबाट चीन उड्ने विमानको नियमित उडान कटौती भएपछि पठाउन नसकिएको हो ।

उक्त किट्स २४ घण्टाभित्र सुरक्षित भण्डारण गरिसक्नुपर्ने हुन्छ । अन्तिम उडान प्राप्त हुनासाथ आइतबारसम्म पहिलो चरणमा पठाउने भनिएको सम्पूर्ण किट्स पठाइने जनाइएको छ ।

दुई हजार किट्स खरीदपछि बाँकी हुन आउने सहयोग रकमले पनि आवश्यक स्वास्थ सामग्री नै खरीद गरेर पठाइने योजना एनआरएन कोरियाको छ । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञको एक सुझाव समितिसमेत बनाइएको छ । उक्त समितिको सुझावअनुरुप अन्य स्वास्थ्य सामग्री खरीद गर्ने जनाइएको छ ।

Loading...